24.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

चार दशकदेखि चुनावी मैदानमै पुराना अनुहार, पाँच पटकभन्दा बढी उम्मेदवार बनेका १४ नेता

काठमाडौं,०८ माघ । देशमा भएको राजनीतिक परिवर्तनसँगै भएका निर्वाचनमा पटक–पटक उम्मेदवार हुने नेताहरूको संख्या उल्लेख्य छ। बहुदल व्यवस्था स्थापना भएयता झण्डै चार दशकदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा उत्रिँदै आएका यी नेताहरू यस वर्षको फागुन २१ गते हुने निर्वाचनमा पनि पुनः मैदानमा देखिएका छन्।

नेपालमा सम्पन्न सङ्घीय निर्वाचनहरूमा पाँच पटकभन्दा बढी उम्मेदवार बनेका नेताहरूको संख्या १४ जना पुगेको पाइएको छ। जित–हार व्यहोर्दै आएका यी नेताहरूले उम्मेदवारी दिन भने छाडेका छैनन्। प्रमुख दलहरूले पुनः पुरानै अनुहारहरूलाई टिकट दिएपछि यस पटकको निर्वाचनमा पनि उनीहरू दोहोरिएका हुन्।

०३८ सालदेखि प्रत्येक निर्वाचनमा उम्मेदवारी दिँदै आएका जसपा नेपालका नेता शरत्सिंह भण्डारी यस पटक पनि महोत्तरी–२ बाट दसौँ पटक उम्मेदवार बनेका छन्। हालसम्म उनले छ पटक निर्वाचन जितिसकेका छन्। राष्ट्रिय पञ्चायत सदस्यको चुनावबाट सुरु भएको उनको संसदीय यात्रा अझै निरन्तर छ।

एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ सालपछि झापाबाट सात पटक चुनाव लडिसकेका छन्। ०६४ बाहेक सबै निर्वाचन जितेका ओली यस पटक झापा–५ बाट आठौँ पटक उम्मेदवार बनेका छन्। एमालेले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका ओलीलाई यस पटक रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनौती छ।

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ ०४३ सालदेखि लमजुङबाट निरन्तर उम्मेदवार बन्दै आएका छन्। पहिलो चुनावमा पराजय भोगे पनि पछि प्रतिनिधिसभा र प्रदेशसभामा विजयी हुँदै आएका गुरुङ यस पटक पनि मैदानमा छन्।

कांग्रेस नेता विजय गच्छदार ०४८ सालदेखि सुनसरी–३ बाट लगातार उम्मेदवार बन्दै आएका छन्। कांग्रेसले यस पटक पनि उनलाई आठौँ पटक उम्मेदवार बनाएको छ।

राप्रपाका नेता कमल थापा सात पटक चुनाव लडिसकेका छन्। यस पटक उनले मकवानपुर छाडेर काठमाडौँ–५ बाट आठौँ पटक उम्मेदवारी दिएका छन्। अधिकांश चुनावमा पराजित भए पनि उनी निरन्तर प्रतिस्पर्धामा छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल ०५१ यता छ पटक चुनाव लडिसकेका छन्। पाँच पटक जित हात पारेका पौडेल यस पटक पनि रुपन्देही–२ बाट उम्मेदवार बनेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचौँ पटक उम्मेदवार बनेका छन्। प्रत्येक पटक फरक–फरक क्षेत्रबाट उठेका उनी अधिकांश चुनावमा विजयी भएका छन्। सहसंयोजक माधव नेपाल पनि ०६४ बाहेक सबै निर्वाचन जित्दै आएका छन् र यस पटक रौतहट–१ बाट छैटौँ पटक प्रतिस्पर्धामा छन्।

नेकपाकै नेता राजेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा, उपेन्द्र यादव, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरू पनि पाँच पटक वा सोभन्दा बढी उम्मेदवार बनेर पुनः चुनावी मैदानमा उत्रिएका छन्।

यसरी पटक–पटक निर्वाचनमा उम्मेदवार बनेर गाउँ–गाउँ पुग्ने पुराना नेताहरूबाट मतदाताले के अपेक्षा गर्ने भन्ने बहस चर्किएको छ। यस वर्ष भने नयाँ पुस्ताका उम्मेदवारहरूले उनीहरूलाई कडा चुनौती दिइरहेका छन्।

पटक–पटक चुनाव लड्दै आएका यी नेताहरूलाई मतदाताले कस्तो प्रतिक्रिया दिने हुन् भन्ने विषय यस निर्वाचनको मुख्य चासोको विषय बनेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here