काठमाडौँ,०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फको ५० प्रतिशत मतपत्र छपाइ सम्पन्न गरेको छ।
केन्द्रका अनुसार हालसम्म एक करोड दुई लाख ३० हजार थान समानुपातिक मतपत्र छपाइ भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छापिएको जनाइएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फ कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ।
यसैगरी, केन्द्रले हालसम्म निर्वाचन आयोगलाई १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको छ। हालसम्म कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने १२ हजार ९८९ बाकस प्याकिङ गर्न बाँकी रहेको छ।
प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी–विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरिसकेपछि मात्र छपाइ सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।
(रासस)

