रक्सौल, पूर्वी चम्पारण
आईसीपी रक्सौलको आयोजनामा फिटनेस रन–जिरो लाइन कार्यक्रम अन्तर्गत २.५ किलोमिटर म्याराथन दौड सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन भारतको वीरगञ्जस्थित महावाणिज्यदूतावासका महावाणिज्यदूत डी.एस. मीना, वाणिज्यदूत महेश दास, पतन प्रशासक कुमार राजीव रञ्जन, रक्सौलका सहायक कस्टम आयुक्त राघवेन्द्र साह, एसएसबीका डेपुटी कमान्डेन्ट दीपक कृष्ण, वीरगञ्ज आईसीपी प्रबन्धक गणेश प्रसाद घिमिरे तथा प्रभारी चिकित्सा अधिकृत डा. राजीव रञ्जनलगायत अतिथिहरूले हरियो झण्डा देखाएर धावकहरूलाई रवान गर्नुभएको थियो।
दिल्लीबाट आउनु भएकी पूर्व एशियाली म्याराथन च्याम्पियन डा. सुनीता गोदाराको निर्देशनमा सहभागीहरूले दौड पूरा गरेका थिए। उनले सहभागीहरूलाई नियमित रूपमा फिटनेस अभ्यासलाई जीवनशैलीमा अपनाउन प्रेरित हरेकी थिइन।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महावाणिज्यदूत डी.एस. मीना ले भन्नुभयो, “स्वस्थ शरीर, शान्त मन र एकाग्रताका लागि दौड र व्यायाम अत्यन्त आवश्यक छ। यस्ता कार्यक्रमहरूले आपसी प्रेम, सद्भाव र भाइचाराको भावना मजबुत बनाउँछन्।”
कार्यक्रमको अध्यक्षता गर्दै पतन प्रशासक कुमार राजीव रञ्जनले भन्नुभयो, “आजको व्यस्त जीवनशैलीमा मानिसहरू स्वास्थ्यप्रति लापरवाह बन्दै गएका छन्, जसका कारण गम्भीर रोगहरू बढ्दै गएका छन्। यस कार्यक्रममार्फत सीमावर्ती क्षेत्रका नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत रहने सन्देश दिन चाहेका छौँ।”
उक्त म्याराथन दौडमा विद्यालयका विद्यार्थी, सीमावर्ती ग्रामीण, आईसीपी कर्मचारी तथा एसएसबीका जवानहरू गरी करिब २५० जनाको सहभागिता रहेको थियो। विजेता तथा उपविजेता सहभागीहरूलाई मेडल र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा लाइन्स क्लब रक्सौलका अध्यक्ष विमल सर्राफ, शिखा रञ्जन, आईसीपी कर्मचारी श्यामबाबु सिंह, रमन कुमार झा, अख्तर सैफी, कुन्दन कुमार पाण्डेय, नारायण प्रसाद, प्रदीप कुमार दासलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

