काठमाडौँ,०३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार नयाँ बानेश्वरस्थित अर्पन ब्यांक्वेटमा बसेर विभिन्न ६ निर्णय गरेको छ।
बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सार्वजनिक गर्दै पार्टीमा निष्क्रिय रहेका र छाडेका सदस्यलाई फर्किन आग्रह गर्ने अपिल गरिएको जानकारी दिए । त्यस्तै, पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसलाई लामो समयसम्म दिएको योगदानको कदर गर्दै उनलाई धन्यवाद दिने निर्णय समेत गरिएको छ।
कांग्रेसले आगामी आम निर्वाचनमा गठबन्धन नगर्ने पनि निर्णय गरेको छ। प्रवक्ता चालिसेले भने, ‘अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हामी गर्ने छैनौँ । सबै सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौँ ।’
यस्ता छन् निर्णयहरू
१. निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।
३. विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सबै साथीहरूलाई पार्टीमा पुन : जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४. यति वेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो बैठकले श्रद्धेय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हुने छैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकाङ्क्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६. यो नयाँ अध्याय हो- रूपान्तरणको, एकताको, विजयको। सबैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

