28.8 C
Birgunj
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
spot_img

विश्वकप यात्रा सुरु: नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानद्वारा औपचारिक बिदाइ

काठमाण्डौ,०३ माघ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आगामी आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डौमा विशेष कार्यक्रम आयोजना गर्दै टोलीलाई शुभकामना सहित विदाइ गरेको हो।

नेपालले विश्वकपअघि भारत र श्रीलङ्कामा अभ्यास खेलहरू खेल्दै अन्तिम तयारी गर्नेछ। टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ। टी–२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि मार्च ८ (फागुन २४) सम्म आयोजना हुँदैछ।

‘देशलाई गर्व दिलाउनेछौं’ — कप्तान रोहित पौडेल

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि तयारी सन्तोषजनक रहेको जनाउँदै नेपाललाई गर्व गर्न लायक प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
“एनपीएलपछि केही दिन विश्राम मिले पनि समग्र तयारी उत्कृष्ट छ,” कप्तान पौडेलले भने।

अभ्यास खेलले टोली अझ सशक्त बन्छ — प्रशिक्षक स्टुआर्ट ल

मुख्य प्रशिक्षक स्टुआर्ट ल का अनुसार भारत र श्रीलङ्कामा हुने अभ्यास खेलहरूले टोलीलाई विश्वकप लक्षित रूपमा अझ सुदृढ बनाउनेछ।
“विश्वकप खेल्नु खेलाडीदेखि व्यवस्थापनसम्म सबैका लागि गर्वको क्षण हो। हामी राम्रो नतिजा दिलाउनेतर्फ केन्द्रित छौँ,” ल ले भने।

क्यान नेतृत्वको आशा र सुझाव

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले श्रीलङ्का ‘ए’ टोलीसँग बलियो अभ्यास हुने आश्वासन पाएको बताए।
त्यसैगरी क्यानका सचिव पारस खड्काले नेपाली टोलीप्रति देशले ठूलो आशा राखेको उल्लेख गर्दै अनुशासन र मैदानभित्र–बाहिरको जिम्मेवारीप्रति खेलाडीहरूलाई सचेत रहन आग्रह गरे।
उनका अनुसार विश्वकपपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्ने प्रक्रिया अघि बढिरहेको छ।

तेस्रो पटक विश्वकप यात्रा

पारस खड्काकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक बङ्गलादेशमा टी–२० विश्वकप खेलेको थियो। दोस्रो सहभागिताका लागि नेपाललाई १० वर्ष कुर्नुपरे पनि नेपाल अहिले लगातार तेस्रो पटक विश्वकप खेल्दैछ।

समूह ‘सी’ मा नेपाल

नेपाल यसपटक समूह ‘सी’ मा परेकाे छ, जहाँ इङ्ल्याण्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश रहेका छन्।
नेपालले पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इङ्ल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरुआत गर्नेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here