30.8 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा गिरावट — नेपालमा औद्योगिक क्षेत्रको अवस्था

काठमाडौं,१८ पुस । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन २०८१/८२’ अनुसार मुलुकको औद्योगिक क्षेत्रमा मिश्रित नतिजा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ सय नयाँ उद्योग दर्ता भए तापनि सञ्चालनमा रहेका उद्योगहरूको औसत क्षमता उपयोग घटेको प्रतिवेदनले देखाएको छ।

समीक्षा अवधिमा उद्योग विभागमा दर्ता भएका ७ सय नयाँ उद्योगमध्ये ६८ वटा ठूला, ५४ वटा मझौला र ५७८ वटा साना उद्योग रहेका छन्। यी उद्योगहरूमा कुल २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ पुँजी परिचालन हुने र ३५ हजार १४१ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको थियो।

क्षेत्रगत विवरण अनुसार पर्यटन क्षेत्रमा सबैभन्दा बढी २३५, सेवा क्षेत्रमा ११० र उत्पादनमूलक क्षेत्रमा १०६ उद्योग दर्ता भएका थिए। प्रादेशिक रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै ५४३ उद्योग दर्ता भए भने कर्णाली प्रदेशमा सबैभन्दा कम १ उद्योग मात्र दर्ता भएको छ।

उत्पादन क्षमता उपयोगमा गिरावट

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा उद्योगहरूको औसत क्षमता उपयोग ४४.६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४८.३ प्रतिशतभन्दा कम हो। क्षेत्रगत रूपमा टायर तथा ट्युब उद्योगले सबैभन्दा बढी ९०.७ प्रतिशत क्षमता उपयोग गरेका थिए भने वनस्पति घिउ उद्योग सबैभन्दा कम १.१ प्रतिशतमा सीमित रहेको छ।

प्रदेशगत रूपमा मधेस र कर्णाली प्रदेशमा क्षमता उपयोगमा वृद्धि देखिए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गिरावट आएको छ।

कर्जा प्रवाह र क्षेत्रगत असमानता

उत्पादन क्षमता कम भए पनि बैंक तथा वित्तीय संस्थाहरूबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा ११.९५ प्रतिशतले बढेर १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। कुल औद्योगिक कर्जामध्ये बागमती प्रदेशले ७१.३ प्रतिशत हिस्सा ओगटेको छ भने कर्णाली प्रदेशको हिस्सा मात्र ०.२ प्रतिशत रहेको छ। क्षेत्रगत रूपमा गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा सबैभन्दा बढी ३५.२७ प्रतिशत कर्जा प्रवाह भएको देखिएको छ।

औद्योगिक विकासका चुनौती र सम्भावना

प्रतिवेदनले औद्योगिक विकासमा नवीनतम उद्योग स्थापनामा प्रक्रियागत जटिलता, सडक पूर्वाधारको मर्मतमा ढिलाइ र दक्ष जनशक्तिको वैदेशिक रोजगारीमा पलायनलाई मुख्य चुनौतीको रूपमा उल्लेख गरेको छ।

यद्यपि, प्राकृतिक स्रोत उपलब्धता, सस्तो श्रम शक्ति र बढ्दो बैंकिङ पहुँचले औद्योगिक विकासका राम्रो सम्भावना बोकेको देखाएको छ। विशेषगरी सिमेन्ट, स्टिल, चिया र विद्युतीय केबलजस्ता उद्योगहरू आत्मनिर्भरतातर्फ उन्मुख भएकाले निर्यात प्रवर्धनका अवसर समेत खुल्ला रहेको प्रतिवेदनमा उल्लेख छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here