वीरगंज,१७ पुस । तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। वीरगंजमा आज आयोजित एक विशेष कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले शाक्यलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।
ठोरी गाउँपालिका निवासी शाक्य केही वर्षदेखि सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था विकृत बन्दै गएको अनुभूति भएपछि आफू केही समय निष्क्रिय बसेको बताए। तर भाद्र २३ र २४ गते सम्पन्न ‘जेन्जी विद्रोह’पछि मुलुकको राजनीतिमा नयाँ आशा र सम्भावनाको संकेत देखिएको उल्लेख गर्दै त्यसैको प्रभावले पुनः सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारे।
उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा पनि गरे। रास्वपा पर्सा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्राका अनुसार पार्टीले शाक्यलाई उक्त क्षेत्रका लागि सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ।
रास्वपा पर्सा सभापति हरी पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य नन्दन यादव तथा क्षेत्रीय सभापति जितेन्द्र मिश्राले मन्तव्य राख्दै शाक्यको लामो राजनीतिक अनुभव, संगठन क्षमता र जनआधार पार्टीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनीहरूले शाक्यको प्रवेशले पर्सा जिल्लामा पार्टीको संगठन थप मजबुत हुने अपेक्षा समेत व्यक्त गरे।
कार्यक्रमको सहजीकरण सुदिस प्रजापतिले गरेका थिए। शाक्यको रास्वपामा प्रवेशसँगै पर्सा–४ को राजनीतिक गतिविधि र आगामी निर्वाचनको समीकरण थप चासोको विषय बनेको छ।

