वीरगंज,०९ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले न्याय सेवाका सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ। आयोगको पुस ७ गते बसेको बैठकको निर्णयअनुसार उनीहरूको नियुक्ति पुस १५ गतेदेखि लागू हुनेछ।
नवनियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्यभार सम्हाल्नेछन्।
आयोगका अनुसार कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईलाई विराटनगरस्थित निर्वाचन कार्यालयमा खटाइएको छ। मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीलाई जनकपुरमा जिम्मेवारी दिइएको छ।
यस्तै, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठलाई हेटौंडामा, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासेलाई पोखरामा र लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितलाई घोराहीमा निर्वाचन अधिकृत तोकिएको छ।
यसैगरी, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललाई वीरेन्द्रनगरमा तथा सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापालाई धनगढीमा निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ। 
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन अनुभवी न्यायिक जनशक्तिलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको जानकारी दिए।

