वीरगंज,०१ पुष । जनमत पार्टी पर्साले जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्रीय बैठक सम्पन्न गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
पार्टीले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्पन्न बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो। जनमत पार्टीका अनुसार पर्सा क्षेत्र नम्बर–१ बाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्याम प्रसाद गुप्तालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतसहित केन्द्रीय सदस्य तथा पूर्व एसएसपी अनुराग द्विवेदी, अधिवक्ता हरिहर प्रसाद साह र राष्ट्रिय परिषद् सदस्य बृजकिसोर प्रसाद कलवार उम्मेदवार सिफारिस भएका छन्।
पर्सा क्षेत्र नम्बर–३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने पर्सा क्षेत्र नम्बर–४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवार (सिमा गुप्ता) सिफारिस भएकी छन्।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फद्वारा जारी प्रेस विज्ञप्तिमा क्षेत्रीय बैठकहरू उत्साहजनक रूपमा सम्पन्न भएको उल्लेख गर्दै सिफारिस गरिएका उम्मेदवारहरूले आगामी निर्वाचनमा पार्टीको सशक्त र प्रभावकारी प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ।

