काठमाडौं,२७ मंसिर । नेकपा एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्घाटन स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ।
विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुर र बम डिटेक्टर उपकरणसहितका प्रहरीहरू बिहानैदेखि उद्घाटन समारोह स्थलमा परिचालित छन्। प्रहरीले मञ्च क्षेत्र तथा समारोह स्थल वरपर निरन्तर रूपमा कुकुर डुलाउँदै सुरक्षा जाँच गरिरहेको छ।
अरनिको राजमार्गसँगै जोडिएको भक्तपुरको सल्लाघारीस्थित सार्वजनिक जग्गामा महाधिवेशन उद्घाटन समारोह आयोजना गरिएको छ। एमालेका अनुसार उद्घाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुनेछ।
उद्घाटन समारोहमा सहभागी हुन आज बिहानैदेखि देशका विभिन्न स्थानबाट एमाले कार्यकर्ताहरू समारोह स्थलमा आइपुगेका छन्।

