28.2 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

एनपीएल एलिमिनेटर: काठमाण्डु गोर्खाज–लुम्बिनी लायन्स आज भिड्दै

काठमाडौँ,२४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुनेछ।

गत संस्करणमा नेट रनरेटका कारण प्लेअफबाट बाहिरिएको काठमाण्डु र कमजोर प्रदर्शनका कारण पुछारमा सीमित बनेको लुम्बिनीले यस पटक पुनरागमन गर्दै प्लेअफ यात्रा तय गरेका हुन्। सुरुआती उतार–चढावपछि दुवै टोलीले महत्वपूर्ण जित निकाल्दै शीर्ष चारमा स्थान सुरक्षित गरेका थिए।

काठमाण्डु गोर्खाजले प्रतियोगिताको सुरुआत सानदार गर्दै उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। तर त्यसपछिका दुई खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हार बेहोर्दा टोली दबाबमा पर्‍यो।

त्यसपछि लगातार चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै काठमाण्डुले प्लेअफमा स्थान बनायो। यद्यपि रनरेटको आधारमा तेस्रो स्थानमा सीमित हुँदा टोलीले पुनः एलिमिनेटर खेल्नुपरेको हो।

गत संस्करणमा मात्र एक खेल जित्दै कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सका लागि यो सिजन पनि सुरुआत सहज रहेन। चितवन राइनोजलाई हराउँदै विजयी सुरुआत गरे पनि लगत्तै तीन खेलमा लगातार हार बेहोर्दा प्लेअफ सम्भावना कमजोर देखिएको थियो।

तर टोलीले रणनीतिमा परिवर्तन गर्दै निरोशन डिक्वेला र सन्दीप जोरालाई मध्यक्रममा उतार्ने निर्णय गरेपछि लुम्बिनीले लय समात्यो र पुनरागमनसहित शीर्ष चारमा स्थान सुरक्षित गर्न सफल भयो। लिग चरणका अन्तिम खेलहरूमा देखाएको निरन्तरता कायम राख्न सके लुम्बिनी चुनौतीपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।

काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ र दुवै खेलमा काठमाण्डु विजयी बनेको छ। गत संस्करणको लिग खेलमा काठमाण्डुले लुम्बिनीलाई १८ रनले हराएको थियो भने यस सिजन २२ रनले पराजित गरेको थियो।

जारी संस्करणमा काठमाण्डुले लिग चरणमा ५ जित र २ हारको नतिजा निकालेको थियो भने लुम्बिनीले ४ जित र ३ हार हासिल गरेको थियो।

आजको खेलको विजेताले भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ।

यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here