वीरगंज,१० मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप ल्यापटप वितरण गरिएको छ । गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालयमध्ये उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई वडा नं. ५ कार्यालयले विशेष सम्मान कार्यक्रममार्फत पुरस्कृत गरेको हो ।
समारोहका प्रमुख अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष विपिन मुखियाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी शाहिद आलम (GPA 3.57) र सोनी कुमारी (GPA 3.39) लाई ल्यापटप हस्तान्तरण गरे । अध्यक्ष मुखियाले शैक्षिक क्षेत्रमा विद्यार्थीहरूलाई थप उत्साहित र प्रविधिमैत्री बनाउने उद्देश्यले वडा कार्यालयले ल्यापटप वितरण कार्यक्रम सञ्चालन गरेको बताए । उनका अनुसार उत्कृष्ट विद्यार्थीको श्रम, प्रतिबद्धता र उपलब्धिलाई सम्मान गर्ने यो पहल आगामी वर्षहरूमा पनि निरन्तर जारी रहनेछ ।
यद्यपि दुबै विद्यार्थी हाल काठमाडौँमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेकाले सो अवसरमा ल्यापटप उनीहरूका अभिभावकलाई हस्तान्तरण गरिएको थियो । शाहिद आलम र सोनी कुमारी दुवै जना ने.रा.मा.वि. निचुटाका विद्यार्थी हुन् र उनीहरूले एसईईमा उत्कृष्ट नतिजा ल्याएर विद्यालय तथा समुदायको प्रतिष्ठा बढाउन सफल भएका छन् ।
वडा कार्यालयले उत्कृष्ट विद्यार्थीको पहिचान, सम्मान र प्रवर्द्धनमार्फत गुणस्तरीय शिक्षाको अभिवृद्धि र विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक मनोभावना जगाउन टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

