29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

सयौं जाली शैक्षिक कागजात बरामद, एक भारतीयको गिरफ्तारी

रुपन्देही,०३ भदौ । रूपन्देही प्रहरीले सयौंको संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादव छन् ।

उनको साथबाट नेपाल तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथ परिसरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको छ ।

विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

यस्तै भारतको एमीटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला परेका छन् ।

यस्तै जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू पनि बरामद भएका छन् ।

त्यस्तै चार वटा पेन ड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आई फोन, एक थान रियलमी मोबाइल, तीन वटा एटिएम कार्ड, भारू १८ हजार ५ सय रुपैयाँ र नेपाली ३ हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताए । यो घटनाले नक्कली शैक्षिक प्रमाणपत्रको अवैध कारोबारको गम्भीरतालाई उजागर गरेको छ, जुन शिक्षा क्षेत्रका लागि ठूलो चुनौती हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेका यादव कसैको लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । उनले प्रायजसो विदेश अध्ययन र कामको प्रयोजनको लागि नक्कली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here