काठमाडौं,२७ साउन । स्वदेशमा उत्पादन हुने स्वच्छ ऊर्जा प्रयोग र वातावरणीय प्रदूषण न्यूनीकरणको लक्ष्यसहित सरकारले अघि बढाएको विद्युतीय सवारी (ईभी) प्रवर्द्धन नीतिले ठोस प्रभाव देखाउन थालेको छ। पछिल्ला वर्षहरूमा ईभीको आयात तीव्र गतिमा बढेको छ भने पेट्रोलियम पदार्थको आयात क्रमशः घट्दो अवस्थामा पुगेको छ।
भन्सार विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ८४ करोड रुपैयाँ मूल्यका ४,०५० ईभी नेपाल भित्रिएका थिए। तर तीन वर्षमै, २०८१/८२ मा यो संख्या उफ्रिँदै १३,५६९ इकाइ पुगेको छ, जसको मूल्य ३१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी छ। यस्तै, २०८०/८१ मा ११,७०० ईभी आयात भएका थिए।
यसबीच पेट्रोलियम पदार्थको आयात भने लगातार घटिरहेको छ। २०७९/८० मा ३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा, २०८०/८१ मा यो घटेर ३ खर्बमा सीमित रह्यो। २०८१/८२ मा त झन् २ खर्ब ८७ अर्ब रुपैयाँमै खुम्चिएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार, विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा पेट्रोलियमको खपत घट्नु स्वाभाविक हो। “अब उपभोक्ताहरू बिस्तारै डिजेल–पेट्रोल गाडीबाट टाढिँदैछन्,” उनले बताए। उद्योग–धन्दा र कलकारखानामा पनि विद्युतको प्रयोग बढेकाले इन्धन आयातमा कमी आएको उनको भनाइ छ।
नेपालमा ईभी मुख्यतः चीन, भारत, कोरिया, जर्मनी, मलेसिया, इन्डोनेसिया र अमेरिका लगायतका मुलुकबाट आयात हुन्छन्। गत आवमा सबैभन्दा धेरै ७५ प्रतिशत,ईभी चीनबाट आयात भएका छन्। चीनबाट मात्र २४ अर्ब ७३ करोड रुपैयाँ मूल्यका १०,२१६ इकाइ आएका छन्। त्यसपछि भारतबाट ३,२४६ ईभी (६ अर्ब ४६ करोड रुपैयाँ बराबर) आयात भएका छन्।

