कलैया,१४ साउन । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने युवक बाराको विश्रामपुर गाउँपालिका–१, घोडासहन निवासी २२ वर्षीय अजमुल हक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार, साउन १४ गते दिउँसो करिब २:५० बजे इलाका प्रहरी कार्यालय प्रसौनी बाराका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अंसारीलाई फेटा गाउँपालिका–१, भलुहीस्थित स्थानमा शंकाका आधारमा रोकी शरीर खानतलासी गर्दा, २ वटा प्लास्टिकका पुरियामा १४७.१८ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। त्यसमा ६०० मिलिग्राम सुख्खा प्रकार र १४६.५८ ग्राम लेदो पदार्थ रहेका छन्।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको बाराका प्रहरी जनाएको छ।

