वीरगंज,१३ साउन । लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा मंगलबार वीरगंजस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगी क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
लायन्स डिस्ट्रीक 325 S अन्तर्गत वार्षिक कार्ययोजनाअनुसार आयोजना गरिएको कार्यक्रममा “प्लास्टिक झोला प्रयोग नगरौं” र “म मन्दिर फोहर गर्दिन” भन्ने नारासहित प्लास्टिक मुक्त तथा सफा वातावरणको सन्देश फैलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरूको स्वच्छता केवल कर्तव्य नभई संस्कार भएको उल्लेख गर्दै भने, “हामीले सरसफाइका सामग्री मात्र होइन, सफा र सचेत समाजको सन्देश पनि सुम्पिएका छौं।”
कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत विभिन्न क्लबका सदस्यहरूको सक्रिय उपस्थिति थियो।
मन्दिर व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरिनुका साथै सहभागीहरूले मन्दिर परिसर सधैं सफा राख्ने प्रतिज्ञा पनि गरेका थिए । आयोजकहरूले आशा गरेका छन् कि यस्ता अभियानले धार्मिक स्थलहरूको सरसफाइ मात्र होइन, पर्यावरणीय चेतना र सामाजिक उत्तरदायित्वप्रतिको जनमानसमा सकारात्मक प्रभाव पार्नेछ।
कार्यक्रमले स्थानीय श्रद्धालुहरूमा उत्साह र प्रेरणा भरेको छ भने वीरगंजलाई सफा, हराभरा र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा थपेको आयोजकले जनाएका छन्।

