28.5 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

साउनमा ब्याजदर फेरि घट्यो: मौद्रिक नीतिपछि बैंकहरू दबाबमा

काठमाडौं,३२ असार । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।

त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।
‘मौद्रिक नीतिको व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको अधिक तरलता नेपाल राष्ट्र बैंकको निक्षेपमा राखी कमाउने ब्याज आम्दानीमा कमी आउने भयो, यसले निक्षेपको ब्याजदर थप घट्यो’ नबिल बैंकका सीईओ मनोज ज्ञवालीले भने ।

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ ।

असार महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् ।

त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।

उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो ।

मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता संकलन भएको केन्द्रीय बैंकले जनाएको छ ।

साउनमा बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर

बैंक असारको ब्याजदर % साउनको ब्याजदर %
कृषि विकास ५.४५ ५.४०
एभरेस्ट ६.५५ ६.२५
नेपाल ५.४५ ५.४०
लक्ष्मी सनराइज ५.७५ ५.५०
माछापुच्छ्रे ६.०० ६.००
एनआईसी एसिया ६.५५ ६.२५
प्रभु ६.१० ४.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२६
राष्ट्रिय वाणिज्य ६.०० ५.५०
नबिल ५.७५ ५.५०
ग्लोबल आईएमई ६.०० ६.००
सिद्धार्थ ५.७५ ५.७५
प्राइम कमर्सियल ६.२५ ६.००
कुमारी ५.७१ ५.४१
सानिमा ६.३३ ६.१८
हिमालयन ५.५० ६.००
नेपाल एसबीआई ५.५० ५.३५
इन्भेस्टमेन्ट मेगा ५.५० ५.२५
एनएमबी ६.०० ६.००
सिटिजन्स ५.६५ ५.५०

स्रोत : सार्वजनिक सूचना

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here