वीरगञ्ज, १३ असार ।
सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धि गर्न तीन दिने तालिम कार्यक्रम वीरगञ्जको बृन्दावन होटेलमा सुरु भएको छ। नेपाल आजतक मिडिया प्रालिको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा सुरु भएको सो तालिममा वीरगञ्जका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
उद्घाटन सत्रको सभाध्यक्षता नेपाल आजतक मिडिया प्रा.लि. का प्रबन्ध निर्देशक विनोद पटेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव अशोक तिवारी रहनुभएको थियो ।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, सञ्चारकर्मी श्याम पासवान, शुशमा गौतम, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल कार्य समिति सदस्य श्याम कुश्वाहा लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि अशोक तिवारीले पत्रकारिता क्षेत्रको हालको अवस्था प्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा फैलिएको विकृति र विसंगतिहरुलाई सुधार्न सशक्त र जिम्मेवार पत्रकारको आवश्यकता रहेको उनले बताए। उनले भने यस्ता तालिम तथा कार्यक्रमहरूले पत्रकारलाई पेशागत निष्ठा, तथा आचारसंहिता र व्यावसायिक क्षमताहरुमा योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे।
तीन दिनसम्म चल्ने तालिममा पत्रकारिताका मूल तत्व, आचारसंहिता, तथ्य परीक्षण, डिजिटल सुरक्षा, र आधुनिक सञ्चार प्रविधिको प्रयोग जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
यो कार्यक्रमले वीरगञ्ज र यस आसपास क्षेत्रका सञ्चारकर्मीहरूलाई अझ सशक्त र जिम्मेवार पत्रकारितातर्फ अग्रसर गराउने अपेक्षा गरिएको नेपाल आजतक मिडिया का प्रबन्ध निर्देशक विनोद पटेलको जिकिर रहेको थियो ।

