35.4 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

मौलापुरको नयाँ बजेट सार्वजनिक, प्राथमिकता कुन क्षेत्रमा?

रौतहट,१० असार । रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरसभा तथा नवौँ बजेट अधिवेशनमा नगर प्रमुख रिनाकुमारी साहले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

मेयर साहका अनुसार कुल बजेटको ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। नगरमा नगर प्रहरीको सट्टा नगर शिक्षक र नगर चिकित्सकको अवधारणा लागू गरिएको उल्लेख गर्दै उनले मौलापुरलाई स्मार्ट कक्षा, गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा मोडेल नगर बनाउने लक्ष्य राखिएको उनले बताइन्।

मौलापुरले शुन्य कर नीतिलाई विगत ८ वर्षदेखि निरन्तरता दिँदै आएको छ। यस वर्ष पनि नगरवासीलाई निःशुल्क विजुली, पानी सेवा दिइने, र नगरलाई कच्ची सडक मुक्त क्षेत्र घोषणा गरिने लक्ष्य रहेको मेयर साहले जानकारी दिइन्।

‘हामी शासक होइन, सेवक हौँ’ भन्ने दृष्टिकोणसहित सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरिन्। नगरपालिकाको चर्चित कार्यक्रम ‘छोरीसंग मेयर’ योजना अन्तर्गत विवाहको बेला छोरीहरूलाई ३० हजार रुपैयाँ नगद सहयोग गरिँदै आएको र यसलाई पनि निरन्तरता दिइने बताइएको छ।

त्यस्तै, नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलोमुक्त अभियान, साक्षरता र स्वरोजगार कार्यक्रम, ‘हर हातमे हुनर’, ‘बेटीके साथ मेयर’ जस्ता सामाजिक रुपान्तरणमूलक योजनालाई बजेटमा प्राथमिकता दिइएको छ।

नगर गौरव आयोजनाका रूपमा पुरातात्विक महादेव मन्दिरको संरक्षण, शहरीकरण, स्मार्ट कक्षा, स्वास्थ्य संस्था सुदृढीकरण, कृषि व्यवसायको व्यावसायीकरण तथा सुशासन प्रवर्द्धनलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यसै अवसरमा आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उद्घाटन सत्रमा मुलुकले लोकतान्त्रिक बाटो बिराएको भन्दै त्यसको सुधार आवश्यक रहेको धारणा राखे। उनले कांग्रेस–एमाले गठबन्धनलाई अलोकतान्त्रिक, अप्राकृतिक र अनैतिक भन्दै आलोचना गरे र मुलुकको समृद्धिका लागि लोकतान्त्रिक पथमा फर्कनु पर्नेमा जोड दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here