वीरगंज,,०६ असार । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा अझै करिब ८ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको उल्लेख गर्दै यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा आयोजित “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” वितरण समारोहमा बोल्दै उनले पर्सा मधेश प्रदेशकै तुलनामा विकसित जिल्ला भए पनि बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्न अझै पनि साझा प्रयास आवश्यक रहेको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रजिअ अर्यालले पर्सा जिल्ला तुलनात्मक रूपमा मधेश प्रदेशका अन्य जिल्लाहरूभन्दा विकसित मानिए पनि, अझै ती बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याउनु गैरसरकारी संस्थाहरू र सबै सरोकारवालाहरूका लागि ठूलो चुनौती रहेको औंल्याए । अर्यालले महिला सशक्तिकरणको सवालमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
महिला सशक्तिकरणको सवालमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दैनिक २–४ उजुरी आउने गरेको उल्लेख गर्दै अर्यालले कानुनी रूपमा विवाह, दर्ता, नागरिकता आदि नपुर्याउने व्यक्तिमाथि कारबाही गरिनेजस्तो कडाइ अझै आवश्यक रहेको बताए। “जहिलेसम्म महिलाले न्याय पाउँदैनन्, हामी कठोर कदम चालिरहनेछौं,” उनले दोहोर्याए ।
कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका–१ की सामाजिक अभियन्ता तुलसी पौडेल अधिकारीलाई यस वर्षको स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार प्रदान गरिएको थियो । उनी विगत दुई दशकदेखि महिला अधिकार, सशक्तिकरण र बालबालिकासम्बन्धी क्षेत्रमा समर्पित हुँदै विभिन्न संस्थामार्फत समाज परिवर्तनमा सक्रिय रहिएकी छिन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कारस्वरूप उनलाई नगद ११ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरियो ।
गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, रेडक्रस पर्साका सभापति वृजकिशोर पटेल, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल तथा स्व. अर्चना गुप्ताका पति शिवचरण रौनियार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गैसस उपाध्यक्ष सुरज पण्डितले स्वागत मन्तव्य राखेका थिए भने ललन तिवारीले स्व. अर्चना गुप्ताको जीवनी प्रस्तुत गरेका थिए । गैर सरकारी संस्था महासंघ पर्साका कार्य समिति सदस्य समेत रहेकी स्व. गुप्ताकाे ४० वर्षको उमेरमा गत वर्ष वैशाख ९ गते असामयिक निधन भएको थियो ।

