बिनोद पटेल , बारा असार, १
शान्ति सुरक्षा कायम, अपराध अनुसन्धानमा सफलता र राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा सक्रिय भूमिका निर्वाह गरेबापत जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक खेम नेपाल “जेठ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी निरीक्षक नेपालको जेठ महिनाभरको कार्य मूल्यांकन गरी उत्कृष्ट कार्यक्षमता, अनुशासन, लगनशीलता र कर्तव्यनिष्ठताको आधारमा उनलाई यो सम्मान प्रदान गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराले हरेक महिनाको समिक्षा पश्चात उल्लेखनीय कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहनस्वरूप यस्तो सम्मान प्रदान गर्दै आएको छ।
जिल्ला प्रहरी बारा का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले निरीक्षक नेपाललाई विभागीय मूल्य मान्यता, उच्चस्तरीय आदेश तथा निर्देशनको पालना गर्दै व्यावसायिक र निष्ठापूर्वक कार्य सम्पादन गरेको कारणले उनी यो सम्मानको लागि योग्य ठहरिएको बताए ।
सो अवसरमा प्रहरी निरीक्षक नेपालले आफूले पाएको सम्मानलाई थप जिम्मेवारीको रुपमा लिँदै आगामी दिनहरुमा पनि जनताहरुको सुरक्षामा समर्पित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराको पहलले प्रहरी संगठनभित्र सकारात्मक सोच तथा प्रतिस्पर्धा र सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।