चितवन,२९ जेष्ठ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।
बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः ०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शितलबजारमा रोकिनेछन् ।
रोकिएका सवारी साधनलाई बिहान ३ः ०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।