15.4 C
Birgunj
spot_img

बारा–पर्सामा बढ्दो लोडसेडिङ, उद्योगी व्यवसायी चिन्तित

बारा,०४ जेष्ठ । पथलैया–वीरगंज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङले उद्योगहरू चरम संकटमा परेका छन्। पूर्वसूचना वा तालिकाबिना दिनमा १० घण्टासम्म हुने विद्युत कटौतीका कारण सयौं साना–ठूला उद्योगहरू अस्तव्यस्त बनेका छन्।

उद्योग सञ्चालकहरूका अनुसार बारम्बारको विद्युत अवरोधले न केवल उत्पादन प्रभावित भइरहेको छ, तर अत्याधुनिक उपकरणहरू बिग्रने, कच्चा पदार्थ नष्ट हुने र करोडौंको क्षति व्यहोर्नुपरेको छ।

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल भन्छन्, “बिजुली कहिले आउँछ, कहिले जान्छ भन्ने अत्तोपत्तो छैन। उद्योग चलाउने योजना बनाउनै मुस्किल छ।” उनले नेपाल विद्युत प्राधिकरणसँग कम्तीमा निश्चित समय तोक्न माग गरेका छन्— “जति समय विद्युत दिन सकिन्छ, प्रष्ट भनियोस्, त्यो समयमा क्वालिटीको बिजुली दिइयोस्, नत्र उद्योग चलाउन गाह्रो पर्छ।”

करिडोरका थुप्रै उद्योगहरूले उत्पादन समय घटाएका छन् भने कतिपयले सञ्चालन नै बन्द गर्नुपरेको छ। विद्युत अवरोधले उद्योग मात्र होइन, पाँच तारेदेखि पर्यटकस्तरका होटलहरू पनि प्रभावित भएका छन्।

क्लासिक होटल, सिमराका प्रबन्धक राज भट्ट भन्छन्, “जेनेरेटर चलाएर काम चलाइरहेका छौं, तर महिनामा तीन लाख ५० हजार रुपैयाँसम्मको डिजेल खपत भइरहेको छ।”

नेपाल विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेती का अनुसार करिडोरमा दैनिक १५० मेगावाटसम्म विद्युत खपत हुन्छ। उनले पिक आवरमा समस्या भए पनि मिलाएर विद्युत दिने प्रयास भइरहेको बताए।

तर उद्योगीहरू असन्तुष्ट छन्। “हामीले चार अर्ब ५० करोड रुपैयाँ बराबरको वार्षिक विद्युत महसुल तिर्छौं, तर लोडसेडिङको अनियन्त्रित मार खेपिराखेका छौं,” राजपालले भने।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here