बिरगंज । आफ्नै काकाकाे हत्या आराेपमा पर्सा प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ५ निवासी ३३ बर्षिय लक्ष्मण कुमार प्रजापति सहित ३ जनालाई पक्राउ गरेकाे छ ।
२३ दिन अघि पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा बारा कै कलैया उपमहानगरपालिकाकाे वडा नं.५ पर्साटोल निवासी ५५ बर्षिय रामएकवाल पण्डित कुम्हार र बारा कै आदर्शकोतवाल गाउँपालिका वडा नं.५ निवासी ३४ बर्षिय सुरेश ठाकुरकाे शव गाडिएकाे अवस्थामा फेला परेकाे थियाे । बरामद भएकाे शवहरुकाे पाेस्टमार्टम साेही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे थियाे ।
नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र (सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेकाे खाली जग्गामा गाडिएको अवस्थामा फेला परेकाे दुर्घन्धित दुई वटा शवकाे मृत्युकाे कारण बारे प्रहरी अनुसन्धान गर्दै जाँदा आफन्तबाटै हत्या भएकाे खुलेकाे हाे ।
पक्राउ पर्नेमा लक्ष्मण सहित मृतक रामएकवालका ज्वाई जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३२ बर्षिय सन्तोष प्रसाद कुम्हार र साेही ठाउँ निवासी ४५ बर्षिय महादेव महतो नुनिया रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमोध ढुंगेलले वताए । उनका अनुसार पक्राउ परेका मध्येका लक्ष्मण मृतक रामएकबालका भतिजाे हुन् ।
पक्राउ परेका तीन जनासहितको समुहले यही २९ जेठमा रामएकबाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैयाँ बस्दै आएका सुरेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी ढुंगेलले जानकारी दिए । मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडेकाे खुलेकाे उनले वताए ।
अनुसन्धानको क्रममा प्राविधिक बिशलेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको एसपी ढुंगेलले वताए ।
मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा बोलाएर दुबै जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको देखिन्छ ।
यी दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर मार्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी प्रमुख ढुंगेलकाे भनाई छ ।
प्रहरीका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको छ । त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले बतायो । घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।