बैठकमा वीरगञ्जमा रहेको धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमतिपनि भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितको जुलुश निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमित पनि उनको भनाई छ ।
जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक, सम्प्रदायिक र्याली, जुलुश, बन्द हड्ताल लगायतका गतिवधि कुनैपनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल, नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमित बैठकमा भएको लम्सालले बताए । यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निणर्यपनि भएको उनको भनाई छ ।
यता बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले सामाजिक सद्भाव विगार्न खोज्ने र त्यसलाई सहयोग गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले अन्य ठाउँको विवादलाई लिएर वीरगंजमा जातीय दंगा भड्काउने कार्य भइरहेकोले यसलाई तत्काल रोक्नुपर्ने बताउँदै वीरगंजमा लागु गरिएको कर्फ्यू हटाउनुपर्ने माग गरे ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले केही उत्श्रृङ्खल समूहले अराजक गतिविधिहरु गरि रहेका छन्, उनीहरुको पहिचान गरि कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । साथै अराजक गतिविधि गर्ने क्रममा पक्राउ परेकाहरुलाई छुटाउन आउने अथवा सिफारिस गर्ने राजनीतिक दलका व्यक्तित्वहरुलाई पनि नाङ्गो पार्नुपर्ने उनको भनाई छ ।
यसैगरि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले रौतहटको मुद्दालाई लिएर वीरगंजमा जातीय सद्भाव विगार्न खोज्नु दुःखद पक्ष रहेको भन्दै कुनैपनि धार्मिक कार्यमा हतियार सहित जुलुस निकाल्ने कार्य रोक्नुपर्ने बताए । उनले हातहतियार सहित जुलुस निकाल्नुले सामाजिक सद्भाव विगार्ने काम हुने भएकोले सर्वपक्षीय बैठकबाट भएको निणर्यलाई कार्यन्वयन गराउन सबैले सहयोग गर्नुपर्ने बताए ।
गत फागुन ३ गते विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगंजमा निकालिएको विरोध जुलुसको क्रममा विवाद भई झडपको स्थिति हुँदा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै फागुन ७ गते साँझ ५ बजेदेखि वीरगंजमा जारी गरिएको कर्फ्यू गरिएको थियो । नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै सोमबार अबेर राति जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै मंगलबार बिहान ६ बजे देखि १० बजे सम्म ४ घण्टाका लागि खुल्ला गरेको थियो भने १० बजेदखि भने कर्फ्यू आदेश पुनः कायम रहको छ ।