वीरगंज । बाल सुधार गृह वीरगंजबाट दुई जना बालकैदी फरार भएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ विर्तास्थित रहेकाे बाल सुधार गृहकाे छतमाथिबाट हाम फालेर उनीहरु फरार भएका हुन् ।
शुक्रबार विहान फरार भएका बालकैदीहरुकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए । उनले भने, “आज बिहान उनीहरू छतमाथिबाट हाम फालेर फरार भएका हुन् । खोजी कार्य भइरहेको छ ।”
फरार भएका बालकैदीहरू सर्लाही र सिराहा निवासी निवासी रहेका छन् । फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमामा राखिएकाे थियाे ।
भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।
झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना कैदीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साकाे थुनुवा कक्षमा राखिएकाे छ ।
झडप हुनु भन्दा पहिला सुधार गृहमा प्रहरी सहायक निरिक्षककाे नेतृत्व सादा पाेशाकका ७ जना प्रहरीहरु खटाइएकाे थियाे भने हाल ९ जना प्रहरीलाई खटाइएकाे छ । सुधार गृहकाे कमजाेर व्यवस्थापना र भाैतिक संरचना पनि प्रयाप्त नहुँदा बालकैदीहरुलाई भाग्न सहज भएकाे देखिएकाे छ । हाल ६० जना बस्ने क्षमता रहेकाे बाल सुधार गृहमा १२६ जनालाई राखिएकाे छ ।