वीरगंज पर्सा,२४ वैशाख ।
वीरगंज महानगरपालिका वडा नं. १७ रानीघाट स्थित ‘यादगार’ बचत तथा ऋण सहकारी सँस्था आइतबारदेखि पुनः संचालनमा आएको छ । सहकारीका संचालक एवं अध्यक्ष वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी हरिन्द्र सिंहका छोरा राहुल सिंह र श्रीमती शान्ति चौधरीले बचतकर्ताको रकम लिई फरार भएपछि चैत १५ गतेदेखि सहकारी बन्द भएको थियो ।
सहकारीका कोषाध्यक्ष वीरगंज महानगरपालिका वडा नं. ९ रानीघाट निवासी बलिराम साहको पहलमा भागेका अध्यक्षलाई पुनः बोलाई हिसाब किताब फर्छयौट गर्ने र सहकारीमा बचत गरेका बचतकर्ताहरुको रकम फिर्ता पनि दिइने सहमति भएपछि सहकारी पुनः संचालनमा आएको हो । सहकारीको खातामा भएको ५/६ करोड रकम लिएर अध्यक्ष र उनकी श्रीमती अझै फरार छन् ।
अध्यक्ष सिंहले कोषाध्यक्षलाई गुमराहमा पारी यहाँबा अन्यत्र जान सुझाव दिई उल्टै उनीमाथि २ करोड रकम हिनामिना गरेको भनेर जिल्ला अदालत पर्सामा मुद्दा हाली आफै रकम लिएर फरार भएका थिए । कोषाध्यक्ष स्थानीय भएको कारण बचतकर्ताहरुले उनलार्ई बोलाएर समस्या समाधान गर्न भनेपछि आइतबारदेखि सहकारी संचालनमा आएको हो । सहकारीमा बचतकर्ताहरुको रकम बराबर सँस्थाले बजारमा कर्जा लगानी पनि गरेको कारण त्यो कर्जालाई संकलन गरि बचतकर्ताहरुको रकम फिर्ता गरिने सँस्थाका कोषाध्यक्ष बलिराम साहले जानकारी दिए ।
उनका अनुसार सँस्थाका अध्यक्षको चलाखीले सहकारीमा यस्तो समस्या उत्पन्न भएको हो, अब सँस्थाका अन्य सदस्य पदाधिकारीहरुसँग छलफल भई पुनः संचालन गर्ने निर्णय भएको हुँदा बचतकर्ताहरुलाई नआत्तिन आग्रह समेत गरे । उनले बचतकर्ताहरुको एक एक रुपैया हामी फिर्ता गर्छौ, अध्यक्ष सम्पर्क विहीन रहेपनि सँस्थाले बजारमा ठूलो कर्जा लगानी गरेको छ, त्यो कर्जा संकलन गरि विस्तारै विस्तारै बचतकर्ताहरुलाई रकम फिर्ता गरिने बताए ।
आइतबार सँस्था खोल्न जाँदा बचतकर्ताहरुले आफ्नो पैसा दिन दबाब समेत दिएका थिए । तर प्रहरी प्रशासनदेखि बचतकर्ताहरुको रोहबरमा छलफल भई कर्जा लगानी संकलन गरि विस्तारै बचतकर्ताहरुका रकम फिर्ता गर्ने सहमति भएपछि सँस्था संचालनमा आएको हो । अहिले पनि सँस्थाको खाता, हिसाब किताब सबै अध्यक्ष सिंहले आफ्नो निगरानीमा राखेका छन् । त्यो हिसाब किताबलाई शुरुदेखि फर्छयौट गरि विधिवत रुपमा संचालन गरिने बचतकर्ताहरुलाई विश्वस्त गराए ।
लामो समयदेखि संचालित सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता अन्यौलमा परेका थिए । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए ।