वीरगंज (पर्सा), ३० चैत । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स फार्म प्रा.लि.ले दुर्गन्ध फैलाएको भन्दै स्थानीयहरुले बन्द गर्नुपर्ने अडान लिएका छन् । उद्योगले फैलाएको दुर्गन्धको कारण हजारौं परिवार महामारीको शिकार बनेको भन्दै स्थानीयहरुले उद्योग बन्द नै गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।
वीरगंजका व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।
उनीहरुले गन्हाउने समस्याले गर्दा खाना समेत खान सकिदैन, झिँगाले गर्दा झुल लगाएर खाना खानुपर्छ, त्यसले पनि मान्दैन भन्दै झिँगा सहितको खाना खाएकै कारण बच्चा, वृद्धवृद्धाहरु अनावश्यक रुपमा विरामी पर्ने गरेको कारण उद्योगलाई बन्द नै गर्नुपर्ने बताउँछन् । उनीहरुले दुर्गन्ध फैलाउने कार्यलाई मात्रै उद्योगले रोके हदसम्म समस्याको निराकरण हुन्थ्यो तर उद्योग पक्षको यसप्रति कुनै किसिमको चासो नदेखाएकोले उद्योग नै बन्द गर्नुपर्ने स्थानीयहरुको अडान छ ।
झिँगा आतँकले त्यस क्षेत्रमा महामारी फैलाउने उच्च सम्भावना छ । अहिले पनि त्यस क्षेत्रका अधिकाँश बालबालिकाहरु झाडापखाला, हैजा लगायत छाला सम्बन्धी विभिन्न प्रकारको रोगले ग्रसित छन् । त्यो भन्दा पनि गर्भवती महिला झिँगा आतँकबाट बढि प्रभावित छन् । स्वास्थ्यमा नै ठूलो समस्या ल्याउने गरेको छ । वस्तीका बालबालिका र वृद्धवृद्धा सधैं विरामी नै रहन्छन् । खाना बनाउँदा खाना मै झिँगा पर्छ, पस्किदा खानामा झिँगा पर्छ, झुल लगाएर खाना खादा पनि झिँगा सँगै खाना खाने बानी नै भइसकेको स्थानीयहरुको भनाई छ ।
उद्योगले पालना गर्नु पर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गर्दा समेत उद्योगले अटेर गरेपछि गाउँपालिकाले चैत ९ गते १५ दिन भित्र उद्योग बन्द गर्न निर्देशन दिएको थियो । म्याद सकिन एक दिन वाँकी रहँदा उद्योगले ८० प्रतिशत मापदण्ड पुरा भएको तथा झिङगा दुर्गन्ध लगायत नियन्त्रणमा आईसकेको भनेर गाउँपालिकालाई लिखित जानकारी गराउँदै अनुगमन गर्न आग्रह गरेको थियो ।
उद्योगको आग्रहमा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रतिनिधि लिएर अनुगमन गर्न पुगेको थियो । अनुगमनकै क्रममा जम्मा भएका स्थानियहरुले उद्योगको दुर्गन्धका कारण जनजीवन प्रभावित भएको भन्दै उद्योग पूणर् रुपमा बन्द नै गर्नुपर्ने अडान राखेका छन् । उद्योग प्रशासनका कर्मचारी तथा संचालक शिवजी कलवारले उद्योगका कारण केही नभएको वताउँदै प्रमाण दिन भनेपछि आक्रोशित स्थानीयहरुले उद्योगको गेटमा तोडफोड समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत समेत सहभागिता रहेको अनुगमन टोलीले पनि उद्योगले दावी गरे बमोजिमको अवस्था नभेटिएको बताएको छ । अनुगमनको क्रममा उद्योगले दाबी गरे अनुसार वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गरेको नभेटिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले वताए । उनले उद्योग बन्द गर्न दिइएको निर्देशन उद्योग संचालकले पालना नगरेपछि अब कानुनी सल्लाहकारबाट सल्लाह गरेर अगाडी बढ्ने वताए ।
स्थानीयबासीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालको उद्योग गाउँपालिकाले संचालन गर्न नदिने उनले वताए । उद्योगले पालना गर्नुपर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न लामो समयदेखि उद्योगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकोले अब उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए ।
उद्योगबारे गाउँपालिकाले पटक पटक मौखिक तथा लिखित पत्राचार गर्दा पनि उद्योग पक्षले नटेरेको नटेरेको कारण पालिकाले बन्द गर्नको लागि निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा परेको यस उद्योग सम्बन्धी उजुरी माथि पटक पटक छलफल गर्दा प्रचलित कानून अनुसारको मापदण्ड पालना गर्न आग्रह गर्दा पनि उद्योग पक्षले अटेरी गर्दै आएको उनको भनाई छ ।
उद्योगलाई सुधार गर्नका लागि पटक पटक समय दिइएको छ । अनुगमन कति पटक भएको छ, उद्योग पक्षबाट सुधार गर्ने पटक पटक आश्वासन दिइएको छ, तर केही सुधार नभएको कारण पालिकाले उद्योगलाई बन्द नै गर्न १५ दिने अल्टिमेटम दिइएको थियो तर हाल उद्योग पक्षले सुधार गरेको भनेर लिखित पत्र पठाएपछि अनुगमन गरिएको हो, तर अनुगमनको क्रममा सन्तोषजनक सुधार नदेखिएको बताए ।
यता उद्योगका संचालक शिवजी कलवारले पोल्टी उद्योगबाट सुली आउनु र त्यसबाट केही दर्गन्ध हुनु स्वभाविक हुरा हो, तर पहिलाको तुलनामा अहिले उद्योग पक्षले सुधार गरेको दाबी गरे । उनले यस उद्योगबाट दुर्गन्ध फैलाउने भनेको सुली (कुखुराको दिशा) हो, यसलाई व्यवस्थापन गर्न उद्योग पक्ष लागि परेको भन्दै हाल हप्तामा दुई पटक सुली उठाउने कार्य गरिएकोले विस्तारै क्रमिक रुपमा सुधार भएको बताए ।
उनले सुली निर्मूल भइसकेपछि झिँगा पनि नआउने र दुर्गन्ध पनि नहुने भएको उद्योग पक्षले सरसफाईमा ध्यान दिएको उनको भनाई छ । सुलीलाई ४/४ दिनमा उठाउने कार्य भइरहेको कारण झिँगाको प्रकोप कम भएको दाबी गर्दै बाँकी समस्यालाई आउँदो दिनमा सुधार गर्ने प्रतिबद्धता गरे । गाउँपालिकाले नगर्नुपर्ने काम गरेको छ, उद्योग बन्द गर्न निर्देशन दिने गाउँपालिकालाई अधिकार नरहेको उनको भनाई छ ।
कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । उक्त उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।
अनावश्यक झिँगा भन्किने कार्यले गर्दा स्वास्थ्यमा समस्या हुनुका साथसाथै बालबालिका एवं गर्भवति महिलाको स्वास्थ्यमा पनि गम्भिर असर पारि रहेको छ । उद्योगले वडा नं. १ र २ को करिब ५ वटा वस्तीमा बसोबास गर्ने सर्वसाधारणहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पारि रहेको छ । उद्योग संचालनको बखत दाल उद्योग संचालन हुने र स्थानीयहरुलाई जागिर दिने प्रलोभन देखाई संचालन भएको उद्योगले फैलाई रहेको दुर्गन्धको मार स्थानीयहरु विगत ५ वर्षदेखि झेल्दै आई रहेका छन