कलैया, बारा ९ माघ । जिल्ला प्रहरी कार्यालय बाराले एकै दिनमा ३ सय ३२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई विभिन्न अपराधमा संलग्न मध्ये फरार रहेका ३ सय ३२ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले एकैदिनमा पक्राउ गरि अदालतमा बुझाएको हो । बारा जिल्ला अदालतबाट विगो, जरिवाना, कैद फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरि कारबाहीका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगंज कारागार पठाइएको छ भने बाँकीसँग विगो, जरिवाना भुक्तानी गराइएको बताए । विगो, जरिवाना तथा कैद असुल उपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैंकिङ कसुर ठगी मुद्दामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ निवासी विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत रहेका छन् ।
अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन विशेष अभियान नै सञ्चालन गरिएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ । ७ लाखसम्म जरिवाना तोकिएका, ३ वर्षसम्म कैद फैसला भएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको भन्दै प्रहरी उपरीक्षक बोगटीले जन्मकैदको सजाय पाएको व्यक्ति होस वा १ सय रुपैयाँ जरिवाना तोकिएको व्यक्ति फरार रहँदा फरार प्रतिवादीको संख्या बढि देखिने भएकोले पनि फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरिएको उनको भनाई छ ।
फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । १५ दिन अघिबाट निगरानी गरेर आईतबार र सोमबार उनीहरुलाई पक्राउ गरिएको थियो । कलैया स्थित जिल्ला प्रहरी कार्यालयबाट २० जना, सिमरा, निजगढ, कोल्हबी, सिम्रौनगढ, बारागढी लगायतका १० वटा ईलाका प्रहरी कार्यालयबाट १०÷१० जना र अन्य युनिटहरुबाट समेत प्रहरी परिचालन गरि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।