वीरगंज पर्सा, २६ मंसिर । वीरगंज महानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरुको स्तरीकरण र शुल्क निर्धारण गरेको निर्णयप्रति चौतर्फी विरोध भएको छ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याबसन) पर्साले समेत महानगरको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार एन प्याबसन पर्साले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै महानगरपालिकाले नियम विपरित संस्थागत विद्यालयहरुको शुल्क निर्धारण र स्तरीकरण गरेमा ध्यानाकर्षण भएको जनाएको हो ।
वीरगंज महानगरपलिकाको नियमावलीको दफा नम्बर ९७ को ‘क’ मा संस्थागत विद्यालयहरुले लिने शुल्कका लागि संघिय तथा प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम सम्बन्धित विद्यालयले शैक्षिक शत्र शुरु हुनुभन्दा ३ महिना अगावै आफ्नो विद्यालयको शुल्क खुलाई आउने शैक्षिक शत्रको निम्ति शिक्षा शाखामा प्रस्तावित पेश गर्नुपर्ने व्यवस्था छ । अर्थात शुल्क निर्धारण आउने शैक्षिक शत्रको निम्ति निर्धारण गर्नुपर्ने एन प्याबसको भनाई छ । तर वीरगंज महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा भने चालु शैक्षिक शत्र २०७९ जेठ १ गते देखि लागु हुने भनिएको छ । जसकारण निजी विद्यालयहरु समस्यामा परेको भन्दै महानगरले गरेको निर्णय व्यवहारिक नभएको एन प्याबसन पर्साका अध्य्रक्ष राम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयहरुले यस अघिका महिनाहरुको शुल्क उठाएर तिर्नुपर्ने शिर्षकमा तिरेर आय व्यय तयार पारित कर समेत तिरिसकेको अवस्थामा महानगरको निर्णयले विद्यालयमा द्वन्द सृजना हुने देखिएको छ । शुल्क निर्धारण समितिमा संस्थागत विद्यालयको प्रतिनिधिमूलक संस्था मध्ये एकजना रहने व्यवस्था रहेको भएपनि एन प्याबसन र प्याबसनको प्रतिनिधिलाई नराखिएकोमा आपत्ति प्रकट गरेको छ । साथै संस्थागत विद्यालयहरुले पालना गनुपर्ने मापदण्ड, शुल्क प्रावधान र गुणस्तर जस्ता विषयमा निर्णय गर्दा विद्यालयहरको छाता संगठनको राय र परामर्श लिई निर्णय लिनुपर्नेमा संस्थागत विद्यालयको वर्गीकरणमा आफूहरुलाई सहभागिता नगराएकोप्रति एन प्याबसनले असन्तुष्टि जनाएको छ । सोही कारण महानगरपालिकाले शुल्क निर्धारण तथा वर्गीकरणमा गरेको निर्णय विधि र प्रकिया संगत नरहेको भन्दै आफूहरुको राय तथा परामर्श लिई मात्र आगामी शैक्षिक शत्रका लागि लागु गर्न भनिएको छ ।
यसैगरी अभिभावक संघ पर्साले समेत वीरगंज महानगरपालिकाले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । हालै जिल्ला प्रशासनमा दर्ता भएको संघका अध्यक्ष सन्दिप साहले पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महानगरले गरेको निर्णय आफूहरुलाई मान्य नरहेको बताए । उनले महानगरपलिकाले अभिभावकमाथि अझ बढि आर्थिक भार थपिने गरि निर्णय लिएका भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष साहले महानगरले केही विद्यालयको साना कक्षामा अध्यन्नरत विद्यार्थीहरुको शूल्क घटाएपनि माथिल्लो कक्षाहरुको शुल्क वृद्धि गरेको हुँदा यसले अभिभावकहरुबीच नै द्वन्द सृजना हुने बताए । वर्गीकरण र शुल्क निर्धारण गरि सार्वजनिक गर्नु अघि समीक्षा बैठक बस्ने आश्वासन दिएपनि महानगरपालिकाले विदाको दिन पारेर आफूहरुलmाई जानकारी नै नदिई सार्वजनिक गरेको र आफूहरुको माग समेत सम्बोधन नभएको संघको गुनासो छ ।