वीरगंज पर्सा, १८ मंसिर / नेवार समूदायको सामुहिक बेल विवाह (इहि )कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । दुईदिन मनाउने बेल विवाह आज वीरगंजस्थित माईस्थान पार्कमा सम्पन्न भएको हो । माईस्थान इहि समितीले आयोजना गरेको उक्त कार्यक्रममा २७ जना नेवारी कन्याहरुको नेवारी परम्परा अनुसार बेल विवाह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा बसोबास गरेको नेवारहरुलाई एकैठाउँमा उपस्थित गराई भव्य रुपमा बेल विवाह गराउने उदेश्यले सामुहिक बेल विवाह कार्यक्रमको आयोजना गरिएको माईस्थान इहि समितीका अध्यक्ष सुन्दर श्रेष्ठले बताउनुभयो ।
इहि अर्थात बेल विवाह नेवार समुदायमा जन्मेकी छोरीहरुको रजस्वला हुनु अगावै गर्ने गरिन्छ । इहि गर्ने दिन बालिका दिनभर व्रत बस्छन् । बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गरेपश्चात इहि गर्ने बालिकाका बुवाले कन्यादन दिन्छन् । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । साथै इहि गरेकी महिलाले आफ्नो श्रीमानको मृत्यु भएपछि पनि सिन्दुर लगाउन कुनै बाधा नपर्ने नेवारी समुदायमा मान्यता छ ।
वीरगंजमा वि.स २०४० सालदेखि बेल विवाह गर्ने कार्यको सुरुवात भएको हो । माईस्थान इहि समितीका पूर्व अध्यक्ष ओम कृष्णा रंजितकारले पहिलो पटक ५०–६० जना नेवारी कन्याहरुको बेल विवाह गराउनुभएको थियो । नेवारी संसकृतिको सरक्षण गर्नका लागि निरन्तरता दिदै आएको सामुहिक बेल विवाहमा नेवारी चेलीहरुको उपस्थिति पातलिदै गएको छ । विगतमा वीरगंजमा मात्रै हुने गरेको इहि कार्यक्रममा पर्सा जिल्लासंंगै बारा, रौतहटसम्मका नेवारी समुदायको सहभागिता हुने गरेको थियो । तर, पछिल्लो समय विभिन्न ठाउँ समेत इहि गर्ने कार्यको थाल्नी भएको हुँदा वीरगंजमा इहि गर्ने नेवारी कन्याहरुको संख्यामा कमी आएको नेवारी बुद्धिजिवीहरुले बताएका छन् ।