यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ ।
मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।
आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।
बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ ।
राति १२ बजे देखि मौन अवधी शुरु हुदै : के के गर्न नपाइने ?
निर्वाचनको स्थितर समयमा निर्वाचन प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आचारसंहितामा उल्लेख छ। आचारसंहिता अनुसार स्थिरसमय सुरु हुनुभन्दा पहिले नै मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ।
राजनीतिक दल र उम्मेवारहरू अब शान्त हुनुहोस्, मतदातालाई सोच्न दिनुहोस् – रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त
कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन। ती सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ।
अनुगमनमा गोप्य टिम
निर्वाचनको अन्तिम समयमा बढी चलखेल हुँदै आएको छ। सत्तामा र सरकारी निकाय नजिक रहेको सरकारी सम्पत्तिको पनि प्रयोग हुँदै आएको छ। यसको नियन्त्रणका लागि आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, केही गोप्य टिमहरू देशैभर खटाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
मदिरा बिक्री वितरणमा रोक
निर्वाचनको शान्ति सुरक्षाका लागि मदिराजन्य समाग्रीको बिक्री वितरणमा रोक लगाइएको छ। ‘यस अवधिमा हामीले मदिराजन्य समाग्री ओसारपसार तथा बिक्री वितरणमा नियन्त्रण गरेका छौं’, उनले भने, ‘शान्ति भंग हुने कुनै काम गर्न दिँदैनौं।’ यसपल्ट उम्मेदवारभन्दा तिनले नियुक्ति गरेका र मतलाई तलमाथि गर्ने अदृश्य ठेकेदारहरूको बढी चलखेल हुन्छ कि भन्ने आशंका लागेको छ। त्यसका लागि आयोगले विशेष निगरानी बढाइएको उनले बताए।
चुनाव भाँडे उम्मेदवारी रद्द
कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेर निर्वाचनमा धाँधली गरे उम्मेदवारी रद्द हुने कानुनी व्यवस्था छ। यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिइने छ। कानुन अनुसार आचारसंहिता उलंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न छन्।