वीरगंज पर्सा, ३० कात्तिक ।भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणमा फर्जी मतपत्र सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य पश्चिमी चम्पारण नरकटियागंज निवासी ४० वर्षीय ईजाजत अहमद रहेका छन् ।
पर्साको जानकीटोला नाकाबाट अवैध रुपमा भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्र सहित अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाँचको क्रममा भारतको बिहारबाट बी.आर. २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त फर्जी मतपत्र बरामद भएको थियो । यही मंसिर ४ गते हुने संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा फर्जी मत पत्र प्रयोग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले उक्त फर्जी मतपत्र नियन्त्रणमा लिएको थियो । नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै नेपाल प्रवेश गरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखेर अनुसन्धान पश्चात छोडिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनका अनुसार अनुसन्धानको क्रममा उक्त मतपत्रको नमुना मतपत्र शिक्षाको लागि ल्याइएको पाइएकोले छाडिएको बताए । नमुना मतपत्र कुन दलको उम्मेदवारले मगाएको हो भन्ने अहिलेपनि खुल्न नसकेको उनको भनाई छ ।