वीरगंज चैत ११ शुक्रबार । मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी” मा सबै विचार समूहको प्रतिनिधित्व र सहभागिता नगराएको भन्दै पत्रकार सम्वद्ध तीन संगठनले आपत्ति जनाएका छन् ।
मिडिया काउन्सिलले पर्साबाट सञ्चार माध्यमका प्रकाशक/सञ्चालक/सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखालाई जिम्मेवारी दिएको भएपनि अधिकांश क्रियाशिल पत्रकारहरुलाई जानकारी नै नगराई कार्यक्रमको आयोजना गरेको भन्दै विरोध जनाएका हुन् ।
नेपाल प्रेस युनियन पर्सा, प्रेस सेण्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन नेपाल पर्साले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिलको कार्यक्रमको विरोध जनाएका छन् । कार्यक्रममा सहभागी गराउन मिडिया काउन्सिलले मिति २०७८/१२/८ गतेको चलानी नं. ०७१/०७८/०७९ को पत्र मार्फत महिला र बरिष्ठ पत्रकारहरुलाई प्राथामिकता राख्न भनिए पनि महासंघले पठाएको सहभागीहरुको लिष्टमा एक जना मात्रै महिला पत्रकारको नाम गरिएको भएपनि कार्यक्रममा अनुपस्थित रहनुले महासंघले पूर्वाग्रह राखेको देखिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
महासंघ पर्सा शाखाको रवैयाप्रति कार्यक्रम आयोजक मिडिया काउन्सिलको पनि ध्यान पुग्न नसकेकोमा तीनवटै संगठनले आपत्ति जनाएको छ । विगतमा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले फरक विचार समूहका पत्रकारहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको र आगामी दिनमा पनि कुनै कार्यक्रम आयोजना गर्दा आयोजकले यसतर्फ ध्यान पु–याउन सबैलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलले हस्ताक्षर गरेका छन् ।