काठमाडौं। दार्चुला जिल्लामा मौसमी र वायुमण्डलको तथ्यांक लिने भारतीयको बेलुन खसेको छ । भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको उक्त मौसमी बेलुन दार्चुलामा खसेको हो ।
दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार रातिको समयमा उक्त बेलुन खसेको हो । नेपालमा काठमाडौंमा र अन्य केही ठाउँमा जसरी मौसमी एवं वायुमण्डलको तथ्यांक लिनका विभिन्न मुलुकहरुमा सामान्य किसिमका मापक यन्त्र जडित बेलुन उडाउने गर्छन् ।
भारतका उत्तराखण्डसँग सीमा जोडिएका दार्चुला र बैतडी जिल्लामा सीमावारपार यस किसिमका सामान्य घटनाहरु घटिरहने स्थानीयहरु बताउँछन् ।
नौगाडका एक स्थानीयले मौसम सम्बन्धी तथ्यांक लिने भारतीय बेलुन खसेको बताए । देख्ने बित्तिकै थाहा पाउन सकिने भए पनि शंकास्पदवस्तु भन्दै अतिरञ्जित बनाउन खोजेको उनको भनाइ छ ।
दार्चुलाको सदरमुकाम र भारतको धार्चुलको सीमा महाकालीमाथि एक पुल छ । जहाँ दुवैतर्फका स्थानीयहरु तरकारी किन्नसमेत एकअर्काेतर्फ गइरहन्छन् ।
महाकाली नदीमैसमेत एकातर्फबाट बगेको सामान अर्कातर्फ फेला पर्ने गर्छ । यस्तोमा मौसमीय विवरण लिनकालागि केही उचाईमा उडाइने बेलुन कुनै बेला हावाकै वेग र दिशामा गडबडी हुँदा फरक ठाउँमा अवतरण हुने गर्छ ।
नजिक सीमाना भएका कारण भारततर्फबाट उडाइएको बेलुन नेपालतर्फ आएर खसेको स्थानीयहरुको भनाइ छ । उसो त कतैं टाँढा पुगेमा सम्पर्क होस् भन्ने जानेरै उक्त बेलुनमा विभागको फोन नम्बर समेत लेखिएको र सोहीबाट भारतीय बेलुन रहेको पुष्टि भएको बताइएको छ । नेपाल पाना