रत्ननगर, २४ मंसिर
नेपाल जेसीजको केन्द्रीय अध्यक्षमा सौराहाका पर्यटन व्यवसायी शिवप्रसाद भुषालले उमेद्वारी घोषणा गरेका छन् । सौराहामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी पोखरामा हुने ४८औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।
भुषाल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक हुन् । पत्रकार सम्मेलनमा भुषालले नेपाल जेसीजको लक्ष्य प्राप्ती र युवाको भविश्व सुनिश्चितताको लागि आफुले नेतृत्व लिन थालेको बताए । एक शाखा एक प्रशिक्षक उत्पादन गर्ने उद्देश्यका साथ आफु चुनावी मैदानमा हेमिएको भन्दै उनले जेसीजमा लागेका युवाहरुलाई प्रशिक्षण दिएर उद्यमी बनाउने योजना रहेको बताए ।
देशमा विधिको शासन स्थापित गराउन जेसीजले भूमिका खेल्दै आएको भन्दै भुषालले आफु नेतृत्वमा रहेका बेला समाजलाई नेतृत्व गर्ने कुशल जनशक्ति उत्पादन गर्ने बताए । ‘हामी युवालाई उद्यमी बनाउने छौं’, उनले भने, ‘मेरो ध्यान यसैमा केन्द्रीत हुने छ ।’
अवसरसंगै परिर्वतन र परिर्वतनसंगै अवसरको नारालाई स्थापित गराउने भन्दै भुषालले जेसीजमा सामुहिक भावनाको विकास गर्ने प्रतिबद्धता जनाए । सन् २०१४ बाट सौराहा जेसीजको सदस्य बनेर जेसीजको यात्रा तय गरेका भुषाल सन् २०१५ मा सोही जेसीजको उपाध्यक्ष, सन् २०१६ मा महासचिव, २०१७ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१८ मा कानुनी सल्लाहकार तथा सन् २०१९ मा सौराहा जेसीजको अध्यक्ष बनेका थिए ।
सन २०२० मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष भएका भुषाल सन् २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष हुन् । नेपाल जेसीजको यात्रामा उनी सन् २०१७ मा जेसीआइ नेपाल एकाडेमी, सोही वर्ष मास्टर टट, सन् २०१८ मा जेसीआइ इन्डिया नालान्दा, सन् २०१९ मा विजनेश एकाडेमीबाट दिक्षित भइसकेका छन् ।
उनले नेपालमा एक सय बढी ठाउँहरुमा पुगेर जेसीजमा आबद्ध युवाहरुलाई क्षमता तथा नेतृत्व विकास तालिम प्रदान गरिसकेका छन् । कुनै पनि राजनीतिक दलसंग नजोडिएका भुषालमा समाज परिर्वतनका मुद्धहरुमा सजिलै बहस गर्न सक्ने क्षमता रहेको छ । नेपाल जेसीजमा लागेर धेरै युवाहरुलाई उद्यमी बन्न प्रेरित गरिसकेका भुषाल सौराहाको गैरीबारी रिर्साटका सञ्चालक समेत हुन् । उनी कुशल नेचर गाइड तथा टुर गाईड हुन ।
रामेछापमा सम्पन्न जेसीज क्षेत्र सम्मेलन २०२१ लाई उत्कृष्ट बनाएर भुषालले नेपाल जेसीजमा आफ्नो भूमिका देखाउन सफल भएका थिए । जेसीजको अभियानमा जीवन सर्मपण गरेका भुषाल सन् २०२० मा जेसीज अफ दी मन्थ तथा सोही वर्ष उत्कृष्ट अफिसर अफ दी इयर अवार्डबाट पुरस्कृत भएका थिए । आफ्नो जित सुनिश्चित रहेको दावी गरेका भुषाल परिर्वतनको उदाहरण लिन पनि र दिन पनि सक्ने युवा हुन्।
पैसा र शक्तिको आडले चुनाब जितेको नेतृत्वले जेसीजको महाअभियान पुरा गर्न नसक्ने भन्दै आफुले गरेको काम र योगदानका आधारमा विजयी हुने दावी गरे ।
रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, नेकपा एमालेका जिल्ला कमिटी सदस्य लोकराज भुषाललगायतले उनलाई जीतको शुभकामना व्यक्त गरेका थिए । जेसीजको महाधिवेशन पुस १ देखि ४ गते सम्म पोखरामा हुँदै छ ।