30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

नयाँ आईपीओ तयारीमा राष्ट्रिय वाणिज्य बैंक, ३०% शेयर सर्वसाधारणलाई दिन सिफारिस

काठमाडौं,११ पुस । बैंकिङ क्षेत्र सुधारका लागि गठित सुझाव कार्यदलले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई आईपीओ जारी गर्न सिफारिस गरेको छ । कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको प्रतिवेदनमा बैंकले ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने प्रस्ताव अघि सारिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आधा शताब्दीभन्दा बढी समयदेखि देशभर फैलिएका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो बैंक २०२२ साल माघ १० गते (२३ जनवरी १९६६) ‘राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१’ अन्तर्गत स्थापना भएको हो ।

प्रारम्भमा ‘वाणिज्य बैंक ऐन, २०३१’ अन्तर्गत सञ्चालन हुँदै आएको बैंक २०६३ साल बैशाख ६ गते (१९ मे २००६) सार्वजनिक लिमिटेड कम्पनीका रूपमा पुनः दर्ता गरिएको थियो । हाल बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत प्राप्त गर्दै ‘बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (२०१७)’ बमोजिम वाणिज्य बैंकिङ गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ वटाले सर्वसाधारणमा शेयर निष्कासन गरिसकेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक मात्रै आईपीओबाट बाहिर छ। यसअघि पनि पटक–पटक आईपीओ ल्याउने विषय उठे पनि सरकारी स्वामित्व, नीति स्पष्ट नहुनु र व्यवस्थापनको प्राथमिकताका कारण यो प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार वाणिज्य बैंकहरूले न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ । सोही कानुनी प्रावधानको आधारमा कार्यदलले राष्ट्रिय वाणिज्य बैंकले पनि आईपीओ ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।

हाल बैंकको जारी पुँजी २५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिने हो भने बैंकले करिब ४ अर्ब ६९ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । प्रतिकित्ता १०० रुपैयाँका दरले गणना गर्दा बैंकले ४ करोड ६९ लाख ११ हजार ९ सयभन्दा बढी कित्ता शेयर बजारमा ल्याउनुपर्ने देखिन्छ । आईपीओ निष्कासनपछि बैंकको चुक्ता पुँजी करिब २० अर्ब ३२ करोड ८४ लाख ९० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कस्तो छ बैंकको वित्तीय अवस्था ?

राष्ट्रिय वाणिज्य बैंक नेपालकै सबैभन्दा ठूलो सरकारी बैंक हो । हाल बैंकको पुँजी करिब १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकले पछिल्ला वर्षहरुमा स्थिर र राम्रो नाफा कमाउँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५९ करोड ८७ लाख खुद नाफा गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २९५ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १५ करोड १३ लाख खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्ष २०८१-०८२ मा बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, सो वर्षका लागि बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

तर विगतमा भने बैंकले आकर्षक लाभांश दिएको इतिहास छ । आर्थिक वर्ष २०७७-०७८ मा बैंकले ३ प्रतिशत नगद र ३० प्रतिशत बोनस गरी कुल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । गत आवको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म ५ खर्ब २८ अर्ब ५ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ३ अर्ब २२ करोड ६४ लाख रुपैयाँ बढी कर्जा विस्तार गरेको छ । बैंकको खराब कर्जा अनुपात ३.८३ प्रतिशत रहेको छ । जुन बैंकिङ प्रणालीका हिसाबले व्यवस्थापन योग्य मानिन्छ । कतिपय बैंकहरुको खराबकर्जा ८ प्रतिशतसम्म पुगेको अवस्था छ । अहिले वाणिज्य बैंकहरुको औसत खराब कर्जा नै पाँच प्रतिशत नाघेको अवस्था छ ।

गैर-बैंकिङ सम्पत्तिको हकमा भने बैंकको अवस्था तुलनात्मक रुपमा सन्तुलित देखिन्छ । अन्य केहि वाणिज्य बैंकहरुको गैर-बैंकिङ सम्पत्ति करिब ६ अर्ब रुपैयाँसम्म पुगेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकको गैर-बैंकिङ सम्पत्ति २५ करोड ६७ लाख रुपैयाँमा सीमित छ ।

हाल बैंकसँग ५ खर्ब ८७ अर्ब १० करोड २२ लाख रुपैयाँभन्दा बढीको कुल सम्पत्ति छ भने ५ खर्ब ३१ अर्ब ८५ करोड ३ लाख रुपैयाँ बराबरको दायित्व रहेको देखिन्छ।

विगतमा राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक दृष्टिले चुनौतीपूर्ण तथा दबाबपूर्ण समयहरु सामना गर्नुपरेको थियो र एक समय बैंकको अस्तित्वसमेत प्रश्नचिन्हमा परेको थियो । तर ती अनुभवबाट पाठ सिक्दै उज्यालो भविष्यतर्फ अघि बढ्ने दृढ इच्छाशक्तिसहित बैंकले सफलतापूर्वक पुनर्संरचना योजना कार्यान्वयन ग¥यो । त्यसपछि आज बैंक देशका ७७ वटै जिल्ला र ७ वटै प्रदेशमा सबैभन्दा धेरै ग्राहक भएको सर्वाधिक रुचाइएको बैंकका रुपमा स्थापित भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here