29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

भरतपुर क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सुविधा ल्याउने तयारी तीव्र

चितवन,०३ भदौ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पहिलो पटक बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्न पूर्वाधार निर्माणको प्रक्रिया तीव्र भएको छ। चिनियाँ सरकारको सहयोगमा सेवा विस्तार गर्न लागिएको हो।

अस्पताल प्रशासनका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि अस्पताल परिसरमै नयाँ भवन निर्माण गरिनेछ। करिब ५ कट्ठा क्षेत्रफलमा निर्माण हुने दुईतले भवनको लागि माटो परीक्षण, नक्सा निर्माण, र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा पुगेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए।

२० करोडको लागतमा सेवा, ३ वर्षभित्र सुरु हुने लक्ष्य

करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना आगामी तीन वर्षभित्र सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। सुरुमा ४ शय्याको क्षमताबाट सेवा सुरु भई वार्षिक ५० जनासम्मको बोन म्यारो ट्रान्सप्लान्ट सम्भव हुने बताइएको छ।

मानव संशाधन चीनमा प्रशिक्षण, सेवा चिनियाँ सहयोगमा सुरु हुने

अस्पतालले प्रारम्भिक चरणमा चीनको ‘फोर्थ हस्पिटल खपे युनिभर्सिटी’ सँगको सहकार्यमा जनशक्ति तयार गर्दैछ। यसै सन्दर्भमा चिनियाँ चिकित्सक डा. याहो क्वीमीनको टोली नेपाल आइपुगेको थियो। उनले अस्पतालसँग तालिमसम्बन्धी समझदारीमा हस्ताक्षर पनि गरेका छन्।

डाक्टर पौडेलका अनुसार एक डाक्टर र दुई नर्सलाई प्रारम्भिक तालिमका लागि चीन पठाइनेछ। प्रारम्भिक वर्षहरूमा सेवा चिनियाँ जनशक्तिको सहयोगमा सञ्चालन गरिनेछ भने क्रमशः नेपाली जनशक्ति आत्मनिर्भर बनाइने योजना रहेको छ।

चिनियाँ सरकारको थप सहयोग : रोबोटिक सर्जरी र रेडियोथेरापी मेसिन

नेपालका लागि चिनियाँ राजदूत चेन सङले रोबोटिक सर्जरी सेवा र रेडियोथेरापीका लागि आवश्यक ‘लिनियर एक्सिलेरेटर’ मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै, क्यान्सर अस्पतालको विस्तारका लागि प्रदेश स्तरमा सेवा पु¥याउने उद्देश्यले सवारीसाधनको व्यवस्था गर्ने प्रतिवद्धता पनि चिनियाँ पक्षले जनाएको छ।

पेट स्क्यान पनि सञ्चालनको तयारीमा, अर्थ मन्त्रालयबाट २५ करोडको बजेट

अस्पतालले बोन म्यारो ट्रान्सप्लान्टसँगै ‘पेट स्क्यान’ सेवा सञ्चालनको प्रक्रिया पनि अघि बढाएको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा यसको लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

नक्सा पास र संरचना अभिलेखीकरणमा ठूला लगानी

बोन म्यारो ट्रान्सप्लान्ट र पेट स्क्यान सेवाको पूर्वाधार निर्माणका लागि अस्पतालले हालै २९ वटा भवनको नक्सा पास गराएको छ। यसका लागि भरतपुर महानगरलाई अस्पतालले आफ्नै आन्तरिक स्रोतबाट १ करोड ७८ लाख रुपैयाँ बुझाएको छ।

सस्तो र सहज उपचारको बाटो खुल्ने आशा

क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेका अनुसार नेपालमा हड्डी मज्जाको क्यान्सर उपचारमा लाग्ने उच्च खर्चका कारण धेरै बिरामी उपचार नै नपाई ज्यान गुमाइरहेका छन्। भारतमा बोन म्यारो ट्रान्सप्लान्टका लागि करिब २० लाख रुपैयाँ खर्च हुने गरेकोमा भरतपुरमै सेवा सुरु भएपछि धेरै बिरामीलाई राहत पुग्ने विश्वास लिइएको छ।

नेपालमा सरकारी अस्पतालमा पहिलो बोन म्यारो ट्रान्सप्लान्ट सेवा

हाल नेपालमा सरकारी तहमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा काठमाडौंस्थित सिभिल अस्पतालमा मात्र उपलब्ध छ। भरतपुर क्यान्सर अस्पतालमा सेवा सुरु भएपछि यो दोस्रो सरकारी अस्पताल हुनेछ, जसले देशैभरिका क्यान्सरका बिरामीहरूलाई आर्थिक र भौगोलिक रूपमा सहज उपचार उपलब्ध गराउनेछ।

डा. पौडेल भन्छन्, “२५ वर्षपछि अब यो अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट हुने सपना साकार हुँदैछ। अब हामी क्यान्सरको सम्पूर्ण उपचार यहीं सम्भव बनाउनेतर्फ अगाडि बढिरहेका छौं।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here