29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

धार्मिक श्रद्धा र सांस्कृतिक कार्यक्रमसँगै देशभर मनाइँदै श्रीकृष्ण जन्माष्टमी

वीरगंज,३१ साउन । भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म लिनुभएका श्रीकृष्णको जन्मोत्सव आज देशभर भक्तिपूर्वक मनाइँदैछ।

“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत…” भन्दै धर्म रक्षा र अधर्म नाशका लागि अवतार लिने प्रतिज्ञा गर्नुभएका श्रीकृष्णको स्मृतिमा भक्तजनहरूले व्रत, भजन-कीर्तन, झाँकी, रथयात्रा तथा सांस्कृतिक कार्यक्रम गरी जन्माष्टमी पर्वको उल्लास मनाइरहेका छन्।

धार्मिक ग्रन्थका अनुसार, मथुराका अत्याचारी राजा कंसको कारागारमा वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा जन्मिएका कृष्णलाई जन्मपछि गोकुल पुर्‍याई यशोदा र नन्दगोपालको संरक्षणमा बाल्यकाल बिताइएको थियो। पछि कंसको वध गरी धर्मको पुनः स्थापना गर्नुभएका श्रीकृष्णलाई ज्ञान योग, ध्यान योग, कर्मयोग र भक्ति योगका प्रणेता मानिन्छ।

आजको दिन विशेष गरी महिलाहरू व्रत बसेर राति १२ बजे श्रीकृष्णको जन्म क्षणको पूजा गर्छन्। वीरगञ्जको गीता मन्दिर, पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, गोठाटारको नवतनधाम, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घ लगायत देशभरका मन्दिरहरूमा विशेष पूजाआराधना, रथयात्रा र सांगीतिक कार्यक्रम भव्य रूपमा आयोजना हुँदैछ।

आध्यात्मिक अर्थमा यो रात ‘मोहरात्रि’का रूपमा चिनिन्छ, जसले अज्ञान, अहंकार र लोभको अन्धकार हटाएर धर्म, ज्ञान र प्रेमको प्रकाश स्थापनाको सन्देश दिन्छ। कृष्णको प्रिय वाद्य वासुरीलाई घर वा कार्यस्थलमा राख्दा सकारात्मक ऊर्जा र समृद्धि प्राप्त हुने धार्मिक विश्वास पनि छ।

श्रीमद्भगवद्गीता मार्फत कृष्णले जीवनमा निष्काम कर्म, आत्मज्ञान र परमेश्वरप्रति अगाध प्रेमका मार्ग सिकाएका छन्। यही कारण, जन्माष्टमी केवल धार्मिक पर्व मात्र नभई जीवनमा सत्य, प्रेम र धर्मको महत्व सम्झाउने प्रेरणादायी अवसर मानिन्छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here