काठमाडौं,२१ असार । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक अनियमितता तथा हिनामिना गरेको आरोपमा इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि दुवै जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार विद्यालयको खातामा हुनुपर्ने करोडौं रुपैयाँ व्यक्तिगत खातामा स्थानान्तरण गरी हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा लेखा प्रमुख कल्पना गुरुङ मुख्य योजनाकार रहेको पनि अनुसन्धानमा देखिएको बताइएको छ। घटनाबारे सुरुवातमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनका क्रममा उनीहरू दोषी देखिएपछि फौजदारी अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको हो।
गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखापालका रूपमा कार्यरत रहेको जनाइएको छ। यसै प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

