सप्तरी (राजविराज),२१ असार । मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानको कार्यक्षेत्रअन्तर्गत विभिन्न विधामा अन्तरक्रिया, नवप्रतिभा खोजी तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका सञ्चालक समिति सदस्यहरू दिनेश यादव, देवनारायण यादव, देवनारायण माझी तथा सुधा झाको उपस्थिति रहेको थियो। साथै मधेश प्रदेशका आठवटै जिल्लाबाट साहित्य, भाषा, कला र संस्कृतिका क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्व, स्रष्टा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वार्षिकोत्सवका अवसरमा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा नयाँ प्रतिभाहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले नवप्रतिभा खोजी कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।
यसै अवसरमा दुई महत्वपूर्ण कृतिको विमोचन गरिएको छ। डा. सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली लोकगायनको परम्परा’ तथा डा. वीरबहादुर महतोद्वारा लिखित ‘मगही संस्कार आउ संस्कृति’ नामक कृतिको मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।
कार्यक्रममा भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सम्मान कार्यक्रम मन्त्री मनोज कुमार सिंह तथा प्रतिष्ठानको सञ्चालक समितिको तर्फबाट सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रशासन प्रमुख महेन्द्र महतोले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य दिनेश यादवले व्यक्त गर्नुभएको थियो।
मधेश प्रदेशको मिथिला बिहारी नगरपालिका–स्थित पुरन्दहाको भिलेज कल्चर सभाहलमा सम्पन्न उक्त कार्यक्रमले प्रदेशको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

