31.1 C
Birgunj
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
spot_img

यातायातबाट पक्राउ परेका रामकुमार महतो प्रजिअ दाहालको इजलासबाट रिहा

वीरगंज,१८ असार । यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतो अभद्र व्यवहार सम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

वीरगंज महानगरपालिका–१२ निवासी २४ वर्षीय महतोलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले महतो धरौटी बुझाएर रिहा भएको पुष्टि गरेका छन्। उनले धरौटी रकम सार्वजनिक गर्न नचाहे पनि प्रशासन स्रोतका अनुसार महतोलाई ५ हजार रुपैयाँ धरौटी तोकिएको थियो।

महतोलाई गत मंगलबार मोटरसाइकल नामसारी गराउन यातायात व्यवस्था कार्यालय वीरगंज पुगेका बेला वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको भोलिपल्ट उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। यातायात कार्यालय स्रोतका अनुसार महतोले आफूले खरिद गरेको गोपाल बस्नेतको नाममा रहेको मोटरसाइकल आफ्नो नाममा नामसारी गरिदिन आग्रह गरेका थिए। उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नागरिक एपमा उपलब्ध कागजातसमेत प्रस्तुत गर्दै प्रक्रिया अघि बढाइदिन अनुरोध गरेका थिए। तर फाँट प्रमुख प्रेम कार्कीले आवश्यक कागजात नपुगेको भन्दै नामसारी प्रक्रिया अघि बढाउन अस्वीकार गरेपछि विवाद उत्पन्न भएको बताइएको छ।

स्रोतका अनुसार महतोले नामसारीका लागि जोड दिएपछि फाँट प्रमुख कार्कीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर लगिएको थियो। प्रारम्भमा सहमतिमार्फत विवाद समाधान गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि बुधबार महतोविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्रता दिँदै बिहीबार मुद्दाको फाइल जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेको थियो। सोही दिन प्रमुख जिल्ला अधिकारीको इजलासले महतोलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here