वीरगंज,२४ जेष्ठ । पर्सामा २५ वर्षअघि भएको हत्या घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका अभियुक्तलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार तत्कालीन धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या भएको थियो। घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरिएको घटनामा संलग्न व्यक्ति त्यसयता फरार रहँदै आएका थिए।
पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद चौहान रहेका छन्। प्रहरीले सोमबार बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ परेकाले घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

