31.2 C
Birgunj
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img

१ हजारभन्दा बढी विद्यार्थी सहभागी, गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न

वीरगंज,२३ जेष्ठ । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका कुल १ हजार १४५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

विद्यालयका कोअर्डिनेटर सौराज प्रधानका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि परीक्षा पारदर्शी, व्यवस्थित र निष्पक्ष रूपमा सञ्चालन गरिएको हो। एलकेजीदेखि कक्षा ४ सम्मका विद्यार्थीका लागि जुनियर विङ र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीका लागि सिनियर विङमा परीक्षा सञ्चालन गरिएको थियो। विद्यालय प्रशासनले परीक्षा शान्तिपूर्ण, अनुशासित र व्यवस्थित वातावरणमा सम्पन्न भएको जनाएको छ। परीक्षा केन्द्रको अनुगमन वीरगंज महानगरपालिका शिक्षा समितिकी उपप्रमुख सृजना बुढाथोकीले गरेकी थिइन्। अनुगमनका क्रममा उनले परीक्षा व्यवस्थापन, अनुशासन तथा पारदर्शिताको प्रशंसा गर्दै विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याइरहेको बताइन्।

विद्यालयले प्याब्सनद्वारा निर्धारित छात्रवृत्ति आरक्षण व्यवस्थाअनुसार विभिन्न वर्ग तथा समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ। सो व्यवस्थाअनुसार जेहेन्दार विद्यार्थीका लागि ३७ प्रतिशत, गरिब तथा विपन्न वर्गका लागि ३७ प्रतिशत, आदिवासी तथा जनजातिका लागि १२ प्रतिशत, अल्पसंख्यक, सीमान्तकृत तथा पिछडिएको क्षेत्रका लागि २ प्रतिशत, दलितका लागि ६ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ३ प्रतिशत तथा शहीद, बेपत्ता व्यक्तिका सन्तति र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते परिवारका सन्ततिका लागि ३ प्रतिशत छात्रवृत्ति आरक्षण छुट्याइएको छ।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीले छात्रवृत्ति परीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै परीक्षा सफल बनाउन सहयोग गर्ने शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीप्रति आभार व्यक्त गरे। उनले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। शनिबार लिइएको परीक्षाको नतिजा असार १२ गते प्रकाशित गरिने विद्यालयले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here