21.2 C
Birgunj
Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026
spot_img

छठअघि सिर्सिया नदी सफा राख्न उद्योगहरूलाई विभागको निर्देशन

वीरगंज,१३ कार्तिक । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगंज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिर्सिया नदी आसपासका उद्योगबाट निस्कने प्रदूषित पानीका कारण नदीको स्वच्छता प्रभावित भएको र स्थानीयवासीलाई छठ पर्व मनाउनसमेत कठिनाइ हुने गरेको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

विभागले विभिन्न माध्यमबाट उद्योगहरूले प्रशोधित नगरेको प्रदूषित पानी नदी तथा खोलामा मिसाउने गरेको भन्दै जनगुनासो र उजुरी प्राप्त भएको जनाएको छ। विशेषगरी सिर्सिया नदी आसपासका उद्योगबाट निष्कासन हुने प्रदूषित पानीले नदीको स्वच्छतामा गम्भीर असर पारेको विषयमा विभागको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। छठ पर्वका अवसरमा नदी तथा जलाशयको स्वच्छता र पवित्रता कायम राख्नुपर्ने भएकाले उद्योगहरूलाई यस विषयमा विशेष संवेदनशील हुन विभागले आग्रह गरेको छ। उद्योगबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्डअनुरूप भए–नभएको सुनिश्चित गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले चाडपर्वका समयमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई थप सहयोग गर्नसमेत आग्रह गरेको छ। त्यसका लागि उद्योगहरूले डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी उपलब्ध गराई नदी सफा राख्ने कार्यमा सहयोग गर्नुपर्ने विभागको भनाइ छ। निर्देशन कार्यान्वयन भए–नभएको विषयमा संयुक्त अनुगमन तथा निरीक्षणसमेत गरिने विभागले स्पष्ट पारेको छ। अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशअन्तर्गतका सम्बन्धित निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहभागिता रहनेछ।

प्रचलित वातावरणीय कानुन तथा मापदण्डको पूर्ण पालना गर्दै नदी प्रदूषण नियन्त्रण र स्वच्छता कायम राख्न विभागले सम्बन्धित सबै उद्योगलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। नदी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै विभागले औद्योगिक फोहोर पानीको उचित व्यवस्थापन गर्न र नदी तथा खोलाको स्वच्छतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न उद्योगहरूलाई सचेत गराएको छ।

लामो समयदेखि औद्योगिक प्रदूषणको समस्या झेल्दै आएको सिर्सिया नदीमा छठ पर्वका बेला समेत प्रदूषित पानी मिसिने गरेको गुनासो सार्वजनिक हुँदै आएको छ। यस्तो अवस्थामा उद्योग विभागको निर्देशनले नदीको स्वच्छता कायम राख्न र स्थानीयवासीलाई स्वच्छ वातावरणमा छठ पर्व मनाउने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here