21.2 C
Birgunj
Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026
spot_img

पक्राउ परेका सबै पत्रकार रिहा, नयाँ पत्रिकाका पत्रकार र सम्पादकलाई भोलि साइबर ब्युरोमा हाजिर हुन प्रहरीको निर्देशन

काठमाडौं,१३ कार्तिक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका हुन्।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

यसअघि प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकमा खटिएका प्रहरी कर्मचारी पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नलिई कार्यालयबाट नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समयसम्म त्यहाँ बसेको थियो।

प्रहरीले नयाँ पत्रिकाको कार्यालयबाट भने साँझ मात्रै आफ्नो टोली फिर्ता गरेको थियो। पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलि साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएपछि प्रहरी टोली कार्यालयबाट बाहिरिएको हो। मन्त्रीले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताए पनि नयाँ पत्रिकाका पत्रकार मैनाली र सम्पादक पन्तलाई भने भोलि साइबर ब्युरोमा उपस्थित हुन भनिएको घटनाले पत्रकारमाथि प्रहरीको कारबाही र प्रेस स्वतन्त्रताको विषयलाई पुनः चर्चामा ल्याएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here