31.7 C
Birgunj
Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
spot_img

खगेन्द्र सुनारमाथि रास्वपाको निगरानी, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं,२७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक समाचार तथा श्रव्यसामग्रीबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले उक्त विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

रास्वपाले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ। छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन र पदीय नैतिकता कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको पार्टीले जनाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।

पार्टीका अनुसार सार्वजनिक भएका समाचार र श्रव्यसामग्रीसँग सम्बन्धित विषयको निष्पक्ष छानबिन गरी वास्तविकता पत्ता लगाउनु आवश्यक छ। छानबिन प्रक्रिया प्रभावित नहोस् र सम्बन्धित व्यक्तिले निर्वाह गर्नुपर्ने पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको हो। यसैबीच, रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा आफ्नो पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ। यस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक छानबिन र तथ्यको पहिचान गर्न पार्टी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले यस प्रकरणमा राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ। आन्तरिक छानबिनसँगै सम्बन्धित सरकारी निकायबाट हुने अनुसन्धानलाई पनि सहयोग गर्ने पार्टीको भनाइ छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत काम गर्ने कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ। पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले समेत कानुनी व्यवस्था र नैतिक आचरणको पालना गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ।

सुनारसँग सम्बन्धित विषयमा पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको भए पनि छानबिनको निष्कर्ष भने सार्वजनिक भइसकेको छैन। अब केन्द्रीय अनुशासन आयोगको छानबिनबाट प्राप्त हुने तथ्य र निष्कर्षका आधारमा पार्टीले थप निर्णय लिने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here