कलैया,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
मंगलबार बिहानदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत उहाँले वडा नम्बर २१, २२ र २६ मा पुगेर स्थानीय नागरिकसँग संवाद गर्नुभयो। अभियानका क्रममा उहाँले विगतका जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै अब परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
वडा नम्बर–२१ को मडील्वामा आयोजित भेटघाट कार्यक्रममा ई. साहले यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनको समीक्षा गर्दै जनताको समस्या समाधान हुन नसकेको बताउनुभयो।
“अब सुरक्षित भविष्य र वास्तविक परिवर्तन चाहियो भने घण्टी छापमा मतदान गरेर रास्वपालाई जिताउनुहोस्,” उहाँले आग्रह गर्नुभयो।
त्यसैगरी वडा नम्बर–२२ को मटीरीयामा उहाँले मतदाता, स्थानीय, विद्यार्थी तथा बुद्धिजीवीहरूसँग छलफल गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारसम्बन्धी समस्याबारे जानकारी लिनुभयो। स्थानीयहरूले दैनिक जीवनसँग जोडिएका समस्याहरू उम्मेदवारसमक्ष राखेका थिए।
अभियानकै क्रममा वडा नम्बर–२६ को सिस्वा र बकुलहरमा पुग्नुभएका साहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन तथा जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले लामो समयदेखि निर्माण हुन नसकेको कलैया–मानमत–मटीअर्वा सडक खण्डको उदाहरण दिँदै विगतका सत्तारूढ दलहरूले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभयो।
एक सफल उद्यमीको परिचय दिँदै साहले आफूले विभिन्न परियोजनामार्फत हजारौँलाई रोजगारी दिएको दाबी गर्नुभयो।
“म सांसदमा निर्वाचित भएँ भने कलैया र समग्र बारा जिल्लाका युवाहरूका लागि उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

