काठमाडौँ,१२ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलो पटक मधेश आएका छन्। भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत चर्चामा रहेका थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका हुन्।
वारेस मार्फत मनोनयन दर्ता गरिसकेका थापाले यसअघि काठमाडौंमा विभिन्न नेताहरूसँग निरन्तर भेटघाट गर्दै आएका थिए। उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थलमा उनको स्वागत गर्न ठूलो भीड जम्मा भएको थियो।
सर्लाही, बारा लगायत तराईका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ता र समर्थकहरू थापाको स्वागतका लागि सिमरा पुगेका थिए।
सर्लाही–४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरी चुनावी अभियान सुरु गर्ने योजना बनाएका छन्।
थापाको सर्लाही बसाइको क्रममा उनले आफ्नो निर्वाचन क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी अभियानको नेतृत्व गर्ने पनि बताएका छन्। कांग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ।

