काठमाडौँ,०८ माघ । ट्राफिक प्रहरीले बुधबारदेखि लामो दूरी चल्ने बस र सवारी साधनमा सीसीटिभी र जीपीएस (GPS र CCTV) जडान अनिवार्य गरेको छ। काठमाडौँ उपत्यकाभित्र गुड्ने सबै खाले यात्रुवाहक सार्वजनिक सवारी साधनमा सुरक्षा सुनिश्चित गर्न यो नयाँ व्यवस्था लागू गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिँदै भने, “यस कदमले दुर्घटना अनुसन्धान, सडक सुरक्षा, चोरी, पकेटमार जस्ता आपराधिक गतिविधि नियन्त्रणमा मद्दत गर्नेछ।”
उक्त व्यवस्था अन्तर्गत लामो दूरीका बसमा CCTV क्यामेरा र GPS सिस्टम जडान गरिनेछ। यसले यात्रु, चालक र सवारीधनी दुवैको सुरक्षा सुनिश्चित गर्ने साथै सवारी धनीले भोग्ने झन्झट कम गर्ने प्रहरीको भनाइ छ।
सुरक्षा उपकरण जडान गर्दा लाग्ने खर्च सवारीधनी आफैले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ। प्रहरीका अनुसार व्यवसायी र सरोकारवालासँग छलफल र सहमति पश्चात यो प्रणाली लागू गरिएको हो।

